भरतपुर विमानस्थल आजदेखि १० दिनसम्म बन्द हुने

फाइल तस्बिर: बिएल

चितवनको भरतपुर विमानस्थल आज आइतवारदेखि १० दिन बन्द हुने भएको छ।

विमानस्थलको रनवे ओभरले तथा पार्किङ विस्तारका लागि भन्दैं मंसिर २४ गतेसम्म विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ।

प्राधिकरण कार्यालयले विमानस्थल १० दिन बन्द रहने ‘नोटाम’ जारी गरिसकेको छ।

विमानस्थलको रनवे ठाउँठाँउमा भत्किएको, कतै उप्किएको कारणले ओभरले गर्ने योजना बनाइएको प्रोजेक्ट इन्चार्ज हिमज्योती थापाले बताए। विमानस्थल ओभर ले गर्दा ६० एमएमको पिच हुनेछ।

७०/७० मिटर रहेको पार्किङलाई बढाएर ९०/८० को बनाउन खोजिएको छ। अहिले साना जहाज चारबटा अटेपनि एटिआर र जेट स्टिमहरू एक साइडमा एउटा मात्रैं अटाउन सक्छन् एउटा हेलिप्याड छुट्टैं तयार हुन्छ। धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि ४ करोड ४२ लाख ४७ हजार ७ सय ८८ रूपैंया लागत अनुमान गरिएको छ।

६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ। भरतपुरमा बुद्ध, यती र सिम्रिक एयरलाइन्सले उडान गर्ने गरेका छन्।

भरतपुर-काठमाडौँ दैनिक ८ र बुद्ध र यतिले भरतपुर-पोखरा एक-एक उडान गर्दै आएका छन्। यो विमानस्थलबाट दैनिक ८ सय यात्रुले सेवा लिदैं आएका छन्।

प्रकाशित मिति: : 2019-12-01 12:59:46

प्रतिकृया दिनुहोस्