काठमाडौँका आठ हजार कुकुरको बन्ध्याकरण

फाइल तस्बिर

काठमाडौँ महानगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले महानगरीय कुकुर व्यवस्थापन कार्यक्रम (मनुमित्र) मार्फत आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न गरिसकेको छ।

कामपाले तीन वर्षअघि बढाएको सो कार्यक्रमअन्तर्गत समाजमा अझै छरिएर रहेका छ हजार यस्ता कुकुरको बन्ध्याकरण हुन बाँकी नै रहेको छ।

ललितपुरमा रही घरपालुवा तथा जङ्गली जनावरको हक हितमा काम गर्दै आएको र हाल विश्वको ३० देशमा काम गर्दै आएको संस्था ‘द जेन गुडअल इन्स्टिच्यूट नेपाल’ को प्राविधिक सहयोगमा मनुमित्रले गरेको सर्वेक्षणअनुसार काठमाडौँमा मात्रै हाल २२ हजार सामुदायिक कुकुर रहेका छन्।

“हामीले सन् २०१६ मा यो सर्वेक्षण गरेका थियौँ”, मनुमित्र कार्यक्रम संयोजक सङ्गीता सापकोटाले भने, “२२ हजार यस्ता कुकुर मध्ये कूल १४ हजारको बन्ध्याकरण गर्नुपर्ने थियो । आठ हजारको बन्ध्याकरण गरिसक्यौँ भने छ हजारको अझै गर्न बाँकी छ।” बाइस हजारमध्ये आठ हजार सामुदायिक कुकुर केही बूढा, केही दूध चुसाउने बच्चाको माउ, केही बच्चा रहेकाले यिनीहरुको बन्ध्याकरण गर्न नमिल्ने सापकोटाले बताए।

काठमाडौँमा बढ्दै गएको कुकुरको सङ्ख्याबाट भित्रिने रोगले मानिसमा कुनै असर नपारोस् भनी मनुमित्रले ८० प्रतिशत यस्ता कुकुरलाई रेबिज विरुद्धको खोप लगाइदिइसकेको मनुमित्र सामुदायिक कार्यक्रम संयोजक वसन्त गौतमले जानकारी दिए।

मनुमित्रले शुक्रबारका दिन आफ्नो क्लिनिकमा लगेर यस्ता कुकुरको बन्ध्याकरण गरी ‘भी’ आकारमा कान चिरेर चिह्न लगाउने गरेको छ। विसं २०७३ मा द जेन गुडअल इन्स्टिच्यूट नेपालले सामुदायिक कुकुर व्यवस्थापनमा लगानी गरेको थियो। विसं २०७४ मा कामपाले रु ७२ लाखको औषधी खरिद गरिदिएको थियो। यसैगरी २०७६ सालमा कामपाले रु ५० लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मनुमित्रका संयोजक सापकोटाले बताए।

मनुमित्रले कामपाको सबै वडामा पशु व्यवस्थापन सहायक समुह गठन गरी ३० जना सदस्यसहित २, ३ १३ र १४ बाहेक सबै वडामा रहेका यस्ता कुकुरको बन्ध्याकरणको काम सम्पन्न गरिसकेको छ । मनुमित्रले सामुदायिक कुकुरसम्बन्धी नीति निर्माण गर्न आवश्यक रहेको औँल्याएको छ । हरेक प्रकारका कुकुरको आयु १२ देखि १५ वर्ष हुने हुँदा मनुमित्रले समाजमा रेबिज शिक्षाका कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रमलगायतका विभिन्न काम गरिरहेको बताइएको छ ।

मनुमित्रले महानगरसँग गरेको तीन वर्षसम्मको सहकार्य हाल अन्तिम चरणमा रहेकाले यसको समाप्तीसँगै समाजमा रहेका यस्ता कुकुरको हेरविचार कसले गर्ला भन्ने चिन्तामा कार्यक्रमका सहभागीको मत छ । यो कार्यक्रम केवल काठमाडौँमा मात्र अघि बढाइएको थियो । यस कार्यक्रमका कारण आफ्ना घरमा कुकुर पाल्ने मानिससमेत सचेत भएका बताइएको छ ।

प्रकाशित मिति: : 2019-11-11 15:32:56

प्रतिकृया दिनुहोस्