सोमबार, १५ डिसेम्बर २०२५

बुबाको हत्या गरेको आरोपमा छोरा थुनामा

News Image
फाइल तस्बिर
• • •

सप्तरीको महादेवा गाउँपालिका–१ पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुबाको हत्याको आरोपमा पूर्पक्षका लागि थुनामा राखिएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलाशले नइमलाई बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो । नइममाथि उनका बुबा ६२ वर्षीय मो। गफुर पमरियाको हत्या गरेको आरोप छ । हत्याका अर्का आरोपी गफुरकी श्रीमती ५० वर्षीया जमुनी खातुनलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको जनाएको छ ।

मृतकका भाई मो। इसराइल पमरियाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा आरोपित विरुद्ध गत असोज २० गते उजूरी दिएका थिए । मदिराको सुरमा कुटपिट गरी गफुरको हत्यापछि फरार रहेका जमुनी र नइमलाई प्रहरीले असोज २० गते पक्राउ गरेको थियो । छिमेकी फुल मोहम्मदका अनुसार दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले असोज १९ गते राति बुबासँग झगडा गरी कुटपिट गर्दा गफुर घाइते भएका थिए ।

कुटपिटबाट घाइते गफुरलाई राजविराजस्थित अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । आरोपित नइमले भने दाजु मो. हकिम पमरियासँग भइरहेको आफ्नो झडप छुट्याउन आएका बुबा अचानक लडेर मृत्यु भएको बताएका थिए ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!