हत्याको अभियोग लागेका कांग्रेस नेता आलमविरुद्ध थुनछेक बहस सुरु

फाइल तस्बिर

हत्याको अभियोग लागेका कांग्रेस नेता मोहम्मद अफताव आलमविरुद्ध  थुनछेक बहस सुरु भएको छ ।

जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान सुरु भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले सोमबार आलमविरुद्ध विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसूरमा कारबाही गर्न माग गर्दै अभियोगपत्र दर्ता गरेको थियो ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा आफ्ताब आलम, उनका भाइ महताबसहित मबिन आलम, शेख भदइ, शेख एराज, बद्री सहनीलगायत ११ जनाविरुद्ध सर्वस्वसहित जन्म कैदको माग गर्दै अभियोगपत्र दर्ता गरेको जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले बताए ।

पीडितको पक्षमा पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, रुद्र पोखरेल लगायतले बहस गर्ने बताइएको छ । यस्तै पूर्वन्यायाधीवक्ता डा। युवराज संग्रौलालगायतले पनि पीडितको पक्षमा निःशुल्क बहस गर्ने तयारी गरेका छन् ।

सरकारी वकिलको तर्फबाट खडिन्द्रराज कटुवाल, रामप्रसाद पन्थी, सहन्यायधीवक्ता सूर्यराज दाहाललगायतले बहस गर्ने बताइएको छ ।

आलमको तर्फबाट बहस गर्नेहरुको नाम भने अझै एकिन भइसकेको छैन ।

पहिलो संविधानसभा चुनावताका २७ चैतमा रौतहट क्षेत्रनम्बर २ बाट कांग्रेस उम्मेदवार आलमले मतदानस्थल नजिकै बम पड्काएर बुथ कब्जा गर्ने योजना बनाएका थिए ।

सोही योजनाअनुसार काका शेख इद्रिसको गोठमा बम बनाउँदाबनाउँदै विष्फोट भयो । सोही विष्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोग आलममाथि लागेको छ ।

उनीहरूका परिवारले किटानी जाहेरी दिएपछि गत असोज २६ गते आलम पक्राउ परेका थिए ।

प्रकाशित मिति: : 2019-11-05 11:48:46

प्रतिकृया दिनुहोस्