शनिबार राति महाराजगञ्जको एक घरबाट जुवा खेल्दाखेल्दै पक्राउ परेका ६ जनाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा भाईटीकाको भोलिपल्टमात्र सुनुवाई हुने भएको छ ।
सोमबार दिउँसो ३ बजेसम्म प्रहरीले उनीहरुलाई सर्वोच्च अदालतमा उपस्थित नगराएपछि अदालत बन्द भई सुनुवाई बुधबारका लागि सरेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । उनका अनुसार अब पर्सी सुनुवाई हुनेछ ।
महाराजगञ्जको होटल साम्बलाको पछाडिको घरबाट जुवाडेको एक समूह पक्राउ परेको थियो । पक्राउ परेका जुवाडेमध्ये क्यासिनो किङका रुपमा चिनिने गुण्डा नाइके बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामाले रिट दायर गरेका थिए ।
उक्त रिटमाथि आइतबार सुनुवाई गर्दै सर्वोच्चले २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउन प्रहरीलाई आदेश दिएको थियो । तर सोमबार प्रहरीले अदालतको समय घर्किसकेपछि मात्र बन्दीलाई अदालत पुर्याएको हो ।
शनिबार राति महाराजगञ्जबाट क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटासहित सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा पक्राउ परेका थिए ।
पक्राउ परेका उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो ।
बरामद भएका हजार र ५ सय रुपैयाँका नोट गन्न प्रहरीलाई करिब ३ घन्टा लागेको थियो । पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाउने तयारी गरिएको महाराजगञ्जका डीएसपी उमेश लम्सालले बताए ।