कर्णाली राजमार्ग दैनिक ८ घण्टा बन्द
सुर्खेत कर्णाली राजमार्गको दैलेखको रामाघाट-साईगाउँ खण्डमा दैनिक ८ घण्टा सवारी आवागमन बन्द गरिएको छ। उक्त सडक खण्डको निर्माणको काम भइरहेकोले १५ दिनसम्म सवारी आवागमन बन्द गरिएको हो। कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिएर मध्यपहाडी लोकमार्गको सात्तला भएर साईगाउँ निस्कने गरी वैकल्पिक मार्ग तोकिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ। रामाघाट-साईगाउँ खण्डको दुरी झण्डै १८ किलोमिटर छ। मध्यपहाडी भएर साई निस्कनु पर्ने सवारीले झण्डै ३२ किलोमिटर लामो दुरी पार गर्नुपर्नेछ। कालोपत्रे सडक भत्किएको, खाल्डाखुल्डीले सिस्ने, टुनीबगर र साईगाउँ क्षेत्रमा निकै सास्ती भएपछि सडक निर्माणको काम थालिएको हो।
बिएल संवाददाता - कर्णाली