कहिल्यै हैकम नचलाएका ‘नमूना हाकिम’
इमानदार भएकै कारण अधिकारीले विभिन्न कालक्रममा धेरै हण्डरहरू खाएको कुरा उनकै पुस्तक ‘ओगिल्जा’ मा र नियमित प्रकाशन भइरहने उनकै लेखहरूबाट प्रष्ट हुन्छ। छट्टुहरूका लागि सरकारी जागिर फलिफाप सिद्ध छ भने इमानदार र कर्तव्यनिष्ठ कर्मचारीको खासै स्थान छैन। उनी २०७५ सालमा कार्यालय नै नभएको ठाउँमा सरुवा गरिए र एकवर्षसम्म तनाव व्यहोरे। त्यस्तै लेखापालहरूका बदमासीका कारण पाउनुपर्ने भत्ताहरूबाट बञ्चित भए। मन्त्रीका स्वकीय सचिवले आफ्नो कुर्सी टेबुल र कार्यकक्ष नै हडपेपछि उनी दुई महिनासम्म बिदा लिएर बसे। बिदा सकिएपछि अनिवार्य अवकाश लिए र निरन्तर रुपमा साहित्य-लेखनमा तल्लिन भए। साथीले उनलाई ‘दुई वर्षको अवधिमा करोड कमाइ हुन्छ, रमाना लिएर जानुस्’ पनि भनेका रहेछन्। तर उनले धनलाई पटक्कै महत्व दिएनन्। सेवाग्राहीले कोटको भित्री खल्तीबाट हजारका नोटको बिटो दिनखोज्दा सो फर्काइदिएको प्रसङ्ग पनि बताउँछन्। प्रलोभन देखाएर काम गराउन खोज्नेहरूलाई पनि उनले बेवास्ता गरे।
बिएल संवाददाता - काठमाडौं