साहित्यको एक शसक्त र सर्वप्रिय विधा हो कविता । देश प्रेम, मानवतावादी चिन्तन, समयचक्रको प्रतिबिम्ब लगायतका तमाम विषयहरू मिश्रण भएका कविता वर्तमान समयमा एउटै सङ्ग्रहमा पाउन मुस्किल पर्छ। लोकप्रिय कवि भूपिनको कविता सङ्ग्रह ‘सुप्लाको हवाइजहाज’मा सम्भावनाका स्वयम्भूदेखि उत्तरआधुनिकतावादसम्मको चिन्तन एकै ठाँउमा पाइन्छ।
समय र देश अन्तर्गतका कविताहरूमा कविले वर्तमान राज्य व्यवस्था प्रति गुनासो गरेका छन् भने समयको चक्रले एकपटक सबैलाई मौका दिने सङ्केत गरेका छन्। पहिलो कविता 'देब्रेहात' कवि भूपिनले समय सधै एकनास हुँदैन भैपरी आउँदा विकल्पले काम गर्छ, तर विकल्प बिना परम्परा धान्ने हो भने कुनै बेला पनि काम लाग्न सक्छ ।
याे पनि हेर्नुहाेस।
वेकाम्मै भएको भनेका चिज वस्तुहरू देव्रेहात जस्तै भनेका छन्। 'ट्रक ड्राइभर' भन्ने कवितामा जीवन भगवानको सुनौलो उपहार हो । वा भनौ बाचुञ्जेल राख्न दिएको नासो हो। जीवन नासो भए पनि एकजना ट्रक ड्राइभरले जसरी चलाइरहन्छन् हरेकले आ-आफ्नो जीन्दगी कतै दुर्घटना नजिक पुगेर त कहिल्लै बाक्लो हुस्सु लागिरहँदा पनि प्रशस्त आशा बोकेर।
त्यस्तै ‘एउटा नोटको जीवनी’ भन्ने कवितामा कागजी नोटको जीवनी पढिरहेको कविले पुँजीवादले गाज्दै गएको दुनियाँमा हरेकले कर्मपछि पाउँदा वा गुमाउँदा नोटलाई स्पर्ष गर्ने गर्छन्। जसमा स्पर्षकर्ताको फोहर टासिन्छ 'जस्तै पुग्यो नोट यौन कर्मीको हातमा' जसमा टासियो चिप्लो यौनरस।
त्यस्तै सेफ्टी प्याड निकालेर बाहिर निस्किएकी महिलाका हातमा पुग्दा उसैको मासिक श्रावको रगत टासिने, मासु पसलेको हातमा पुग्दा मासु टासिने तर पनि त्यही नोट प्रिय लाग्दै सबै पात्रले थुक लगाएर गन्दै घुम्दै मन्दिरमा पुजारीका हातमा पुग्दा पवित्र ठहरिने र देवालयमा/मन्दिरमा सजिने भन्दै पुँजीवादको दुनियासंग चिन्तन गरेका छन्।
पवित्रता वा अपवित्रता समयले बोध गर्ने रहेछ। 'खडेरी' कवितामा भूपिनले प्राकृतिक श्रोत साधनमाथिको चरम दोहन वा खडेरीमा जलको महत्व र वर्षामा पानीको महत्व दर्शाउँदै कोसी–कालीको पीडा पोखेको पाइन्छ।
'देश' कविता मेरो मनभित्र
आशाहरुको दौड अझै बाँकी छ
आँखाहरुमा
भन्दै राज्य व्यवस्थाको अनेक स्वरुप हुने । समय र सीमा अनुसार कसैलाई बिरामी लाग्न सक्छ देश तर पनि आशाका जूनकिरी जिवित छन् भन्ने सन्देश पाइन्छ। 'दशैमा परदेशी सम्झेर' कवितामा हर्ष र उर्लास बोक्दै दशै गाउँ पस्दै गर्दा सन्तान परदेशी भयो भने लाग्ने बिरहको अमिलो भोगाई चित्रात्मक शैलीमा प्रस्तुत गरेका छन् कविले।
याे पनि हेर्नुहाेस।
जो बर्तमान नेपाली समाजको जर्जर पिडा हो। 'पुजारी' भन्ने कवितामा भारतका कैयौ मन्दिरमा नेपालीहरु मूल पुजारी छन्, त्यस्तै नेपालको पनि पशुपती लगायत मन्दिरमा भारतीयहरु पुजारी छन् जसले अन्तरदेशीय धार्मिक सहिष्णुतालाई बलियो बनाएको छ भने यसलाई निरन्तरता पनि दिएको पाइन्छ।
तर धार्मिक स्थल मठमन्दिरमा हुने पवित्र भेटीको चरम दुरुपयोगलाई यस कविता मार्फत प्रस्तुत गरेका छन्। 'लज्जा' कवितामा कविले आफू बाँचेको मुलुक कुमारी मुलुक भनी सम्वोधन गरेका छन्।
जसको अर्थ नेपाल कहिले कुनै उपनिवेशवाद थिएन र हुन पनि सक्दैन साथै छिमिकी मुलुकको अस्तित्व संकटमा पर्दा समेत लडेका हाम्रा पूर्खासंग गौरव गर्दै कविले कुनै छिमेकीले दुइजिब्रे स्वभाव देखाउन नहुने भनी सचेत गराएका छन्। 'ट्राफिक दाई' कवितामा ट्राफिक नियम सर्वसाधारणले दण्डको भयले अवश्य पालना गर्छन तर कहीँ कसैले शक्तिको आडमा यसको उल्लघंन गरेका त छैनन् भनी सांङ्केतिक प्रहार गरेका छन्।
'पागलको गीत' वा एक सार्वभौम देशको नागरिकले सार्वभौम सपना देख्छ तर ती सार्वधिक प्रिय सपना सधैँभरि आँखाभित्रको पहिरोले पुरिएका हुन्छन्, भन्दै कविले वर्तमान समग्र देशको परिस्थितिलाई दर्शाउन खोजेका छन्। 'बेसार' कवितामा बेसार त्यस्तो रङ्ग हो जो कविले भने झै हरियो साग, रातो गाजर, सेतो काउली, बैजनी भण्टा वा अन्य कुनै पनि खाध्य पकवानलाई आफ्नै रङ्गको बनाउने सामार्थ हुन्छ।
याे पनि हेर्नुहाेस।
त्यस्तै देशमा बेसारे पात्र छन् वा भनौं एकपटक बेसारे हुन्छन्। र भान्छामा झै बेसारे हात धुन घोटेर साबुन पानी प्रयोग गरी सफा देखिन खोज्छन भनी कुकर्म प्रति व्यङ्ग्य गर्न खोजेका छन्।
‘ग्यालरीमा बुद्ध' कवितामा बुद्धको देशमा शान्तिको प्यासले छटपटाइरहेका देशवासी जनताहरुको सचित्र देखिने चित्र संग्रालयको बखान गरेका छन्। कविले'कोर्रा' कवितामा कवि,कथाकार, निवन्धकार, समीक्षक वा ऐ.ऐ. साहित्यकारले प्रयोग गरेका शब्दसँग सशङ्कित हुने राज्यलाई शब्दले कहिलै आतंकको बाटो हिड्दैन तर तिमी किन कोर्रा बर्साउन्छौ भनी आग्रह गरेको पाइन्छ। यस कविताक्रमको अन्तिम कविता 'बुद्धि बड्गारा'मा पाको बुद्धि पलाएको शासकले संचालन गर्ने राज्य व्यवस्था अन्यभन्दा परिपक्व र कुशल हुने अपेक्षा गरेका छन्।
आमा खण्डका कविताहरु पित्री मोहले भरिभराउ छन्। सधैँभरी दशधारा दूधको ऋणी भइ रहने सन्तानको बलियो काव्यिक प्रस्तुति देखिन्छ। 'आमा एक' मा कविले आमाको सन्तान प्रति अपार माया र ममताको साक्षात्कार गरेका छन्। जीवनको अन्तिम अन्तिम बसन्तमा पनि आमाले आफुसँग सन्तानका लागि अनुपम प्रयाप्त माया भएको भन्दै भनेका छनः
मेरा बचेराहरु
आसाको अन्तिम उज्वालो बाँकी छ मसँग
ननिभ्दै लिएर जाऊ।
अनि जननी उड्दा चुँडिएको जङ्गा जस्तै र बग्दा बग्दै रोकिएको गंगा जस्तै भएपनि फेरि उज्वालो बाँकी छ भन्दै, आउ मायाको अन्तिम चुम्बनहरु उपहार लिएर जाँऊ भनी आमाको मायाको मान्यता कोरेका छन्। यस्तै 'आमा दुई' मा सन्ततिको जीवनप्रति सन्देह प्रेमको उजागर गरेका छन् कविले डाइलन थोमसले "डु नट गो जेन्टलम्यान इन्टु द्याट गुडनाइट" भन्ने कविताकै जसरी । कवि थप्छन्
मिल्ने भए
मेरो आयुको हाँगा काटेर
बनाउने थिँए तिम्रो जीवनका लागि
एक बलियो घर।
जसरी रगत र मृगौला दिन मिल्छ त्यसरी आफूँ दिन मिल्ने भए दिन्थेँ आमा तिमीलाई र म मेरा सपना पुरा भएपछि मात्र आमा छोरा सँगै जाने थिए यमलोकको धमपालमा भनी प्रश्न उत्तर गरेका छन्। सम्भवत प्ररलोक नहुन्जेलसम्म गोलार्धको जुनसुकै कुनामा पनि सबैभन्दा प्रिय, सम्पन्न र प्रेमपूर्ण शब्द नै आमा होला । जुन आफैँमा भव्य भयानक कहीँकतैबाट अपूर्ण नहुने शब्द हो।
याे पनि पढ्नुहाेस।
जुन कविले 'विश्वसुन्दरी' कवितामा भावात्वलन हुने गरी लेखेका छन्। कवि लेख्छन मलाई संसारमा सवैभन्दा सुन्दर लाग्ने मेरी आमा कुनै विश्वसुन्दरी भन्दा कम छैनन्। जहाँ मेरी आमा मौलिक भेष भूषामा सजिन्छन् र गाउँले परम्परा, संस्कृति धान्न रत्यौली खेल्छन् तब मेरी आमाको गरिमा गार्बिलो हुन्छ भन्ने मूल भाव पाइन्छ।
'फेसबुकमा आमाको तस्वीर' कवितामा परदेशी छोराले जव आमाको तस्वीर दिदीको सामाजिक संजाल खाता मार्फत देख्छ तब छोरा सात समुद्र पारी नै भए पनि आमाको सम्झना र यादको आतङ्कले बर्बराउन्छ भनी लेखिएको हुनु पर्छ।
एका बिहानै झिसमिसेमा जाँतो पिस्न जाँदा आमाले लोरी गाउदै पिठ्यूमा बोकेको सन्तान, जब जिद्धी गर्ने बेला भयो र म पनि जाँतो घुमाउन्छु आमाभन्दा सक्दैनौ बाबु कलिलो हत्केलामा ठेला उठ्छ भनी स्नेहले चुम्बन गर्छिन आमाले। जब साँच्चीकै जाँतो घुमाउन सक्ने हुदाँ सात समुद्र पारी उडिसकेको सन्तानलाई सम्झिँदै अगेना र आँगनभरि आँसुको बिस्कुन सुकाउँदै बसेकी आमाको कथा भेटिन्छ यस कवितामा। सन्तानको सुखका लागि हातमा ठेला उठाउदै गर्दा आमाका हातका भाग्यरेखा मेटिए भन्दै कवि लेख्दछन्।
मलाई डोकोको घाँसमाथि राखेर
तिमीले उकाली-ओराली गर्यौ
र तिम्रो ढाड कुप्रियो।
मलार्इ सधै सुखमा राखेर
तिमीले हातमा ठेला उठायौं
र तिम्रो भाग्यरेखा मेटियो।
तर आमाको जिन्दगीमा कुनै फरकपन आएन भलै सन्तान सुखका लागि गरेको दु:खमा चित्त बुझाउनु भयो होला भन्दै कवि लेख्छन्।
बचेराहरु गुँड छोडेर जानका लागि जन्मन्छन्
तिमीले चित्त बुझायौ होला।
घर छोडेर परदेशी भएका सन्तानसँग आमाले बेलाबखतमा टेलिफोन गर्छिन र गर्व पोख्छिन घर छिमेकीसँग तर परदेशी छोराले घरदेशी आमाको पीडा र व्यथा बुझ्दैन भन्दै कवि कोर्छन्।
धेरै ढिला गरेर आत्म-समीक्षा गर्दै छु
आमा !
मैले तिम्रा लागि केही सोचेनछु
मैले सोचेनछु आमा,
तिम्रो दमको रोग
आँङ खस्ने बिरामी
र जाँतोसँग एक्लै बर्बराएर बाच्नु पर्ने
एउटा जिन्दगीको बारेमा।
पासपोर्ट, भिसा वा पिआरको चक्कर लगाउँदा-लगाउँदा
घर, गाडी र सम्पत्तिको किस्ता तिर्दा-तिर्दा
मैले बिर्सेछु
दुनियाँको सबैभन्दा प्यारो काखलाई ।
'वर्णपटमा युवती' कवितामा कविले सपनामा गर्ने सहवासको मलिलो कल्पना गरी यौनमनोविज्ञान पोखेका छन्। यसै कवितामा कविले बालखकालैमा पति परलोक भएपछि पालना गर्नुपर्ने सामाजिक संस्कार र बन्धनको पीडाको विरोध गरेका छन्। त्यस्तै यस खण्डको अत्तिम 'उडान' कवितामा नारी स्वतन्त्रताको कुरा गरेका छन्।
याे पनि हेर्नुहाेस।
जहाँ पुरुषको बन्धनबाट टाढा रही वा पुरुषको बन्धनभन्दा पहिलाकै अवस्थामा फर्किन उहिलेझै चरा बनी उड्छु आकाशमा भनी स्वैरकल्पना गरेका छन्।
बोध र प्रेम कविता खण्ड छरिएर रहेका भावहरु समेटेका छन्। आधुनिक कविताका साथै कतै-कतै उत्तरआधुनिक शैली पनि अपनाएका छन् कविले। यस खण्डको पहिलो कविता 'हल्ट'मा बाघी समयको बिपक्षमा देखिन्छ।
कसैले मान्ने वा पुज्ने भगवान कसैका लागि आङ्तककारी हुन सक्छन भन्दै नित्सेको भगवानको मृत्यु दर्शनबाट सन्दर्भ सापटी लिएर लेखेको पाइन्छ। 'कवि कुनाको अँध्यारो चेपबाट' कवितामा च्याँउ उम्रेझै जुरमुराइरहेका केन्द्र र मोफसलका कवि र कविताहरु जुन रसराग युक्त नभएको गुनासो गरेका छन्। अब लेखनशैली र सीप अनि ढाँचा फेर्नु पर्छ हामी कविहरुले भन्दै कवि भन्छन् :
कोही अकविले लगेको पानीले
कविहरु अलिकति तिखारौं कविताको धार
ताछ्न पुराना चिन्तनका गाँठाहरु।
यसैगरी'विस्मरव'मा मुखमा राम-राम बगलीमा छुरा गर्ने मित्रलार्इ भुल्नु नै उपयुक्त हुन्छ भन्ने सन्देश दिन खोजिएको छ।
हत्याका योजना बनाएर
काखमा लम्पसार सुतिरहेका षड्यन्त्रहरु
साह्रै कठिन हुन्छ भुल्न
तर कतिपय सम्झनाहरु
भुलिदिँदा नै ठिक हुन्छ। भन्दै आफ्नै समकक्षीले अप्ठ्यारो गौडो पर्खेर बस्ने र समय अनुकुल मौका छोपी नमिठो धोका दिएको झोकको सिर्जना पनि हुनसक्छ कविको यो कविता। गहिरो प्रेमको उपजजस्तो देखिन्छ कविता 'स्वर्ग' किनकि एउटा प्रेमीले प्रेमिकाको दाम्पत्य घरबार हुने घरलाई मन्दिर देख्छ कवितामा ।
'' तिमीले वर माग्ने कुनै ढुङगाको घर, मेरो मन्दिर।''
तर आफ्नी प्रेमिकाको आफूसँग घरबार नजुराई दिने भगवानसँग चरम गुनासो गर्दै भेट्यो भने भगवानसँग टेवुलवार्ता गर्ने अठोट गरेका छन्। संगितकार-१ र २ मा कविले संगीत, प्रेम, सम्भोग र अन्य आवश्यकताहरु बिलासीपन हुन भन्दै संगीतले परम आनन्द दिने तर त्यसको स्वाद लिन सक्नु पर्ने भनी चिन्तन गरेको पाइन्छ।
'शरणार्थी' कवितामा शरणार्थी भनेका बाढीले बगाएर ल्याउने रुख सरह हुन, जसलाई ढुङ्गामा बजार्दै, भूमरीमा घुमाउदै मौलिकपन हराउने गरी बगाएर ल्याएको हुन्छ। त्यस्तै आप्रवासी जीवन बिताउँदै मौलिकपन बिर्सिँदै जानुपर्ने हुन्छ भन्दै गहिरो सन्देश दिन खोजेको छ। 'चस्मा' कविता अन्तर्गत कविले कोर्ने कवितामा नयाँ स्वाँद र लेखन चाहिएको छ भन्दै कवि भन्छनः
कम्जोर भएको छ कविताको आँखा
टाढा मात्रै देख्छ नजिक देख्दैन
अब कवितालाई
एउटा नयाँ चस्मा चाहिएको छ।
बजारमा पाउने चस्माभन्दा फरक चस्माको खाँचो औँल्याएका छन्, जसले दूर-दरारसम्म देखोस् र भाव समेट्न सकोस् । यस्तै उनी सोही कवितामा कविताका पाठकलाई पनि कविताको पठन बाचन पछि चुपचाप नबस्नु भन्दै आक्रोस पोखेको पाइन्छ।
अब कविता पढेर
मानिसहरु नसुतुन् स्खलनपछिको जोडी झैँ
ध्वाँर ध्वाँर धुर्दै।
'भेडीगोठमा' भन्ने कवितामा भ्रममा बाच्नेको जिन्दगीमा हुने मनोवैज्ञानिक उतार चढावको रेखाचित्र कोरिएको छ। यस्तै 'पहाड सुन्दरी' वातावरणीय साहित्यिक मर्ममा टेकेर लेखेको कविता हो। कविले कतै पहाडलाई आफ्नै प्रेमिका सरह मानी शहरीकरण र औधोगिकरणले हरियो सुन्दरता कुरुप त हुने छैन? भनि चिन्तिन देखिन्छन्। 'नानीहरु' भन्ने कवितामा कवि नारी अतित्वसँग संवेदनशील छन्।
वर्षौदेखि कुरुप सत्ताको पूजामा
उसले तिमीजस्ता नानीहरुको भोग चढाउँछ। नारी वा नानीहरु वर्षौदेखि अमानवीय व्यवहारको सिकार भएका छन्, जुन कुरा राज्य सत्तालाई बोध हुनुपर्ने हो भन्दै गहिरो सन्देह पोखेका छन्।
शीर्ष कविता वा कृतिको नाम 'सुप्लाको हवाइजहाज' कल्पनाको पनि भव्य कल्पना हो। हरेक बालबालिका मुना हुन्। मुनाहरुको जिज्ञासा, खोज वा उत्सुकताका पछाडि दर्शन (फिलोसोफी) हुन्छ। तर जब मुनाका जिज्ञासा कसैले यसो होइन वा जिद्धी नगर भनी सजिलै टारिदिन्छ भने त्यहाँ अवश्य हामीले मुना निमोठे सरह हुन्छ।
मुनाहरूको बिद्वान हुने मार्गमा एम्बुस थापी मूर्खको मार्ग प्रशस्त गरेका हुन्छौ। त्यही भावसँग सहमत रही सुप्लाको हवाइजहाजको उडान भरेको हुनु पर्छ चालक भूपिनले, जहाँ शिक्षकको आडम्बरी पहाडमा ठोकिन्छ जहाज। अझ भनौँ हरेक विद्यार्थी वा मुना कोपिलाहरु कल्पना र सिर्जनाका व्यापारी हुन्।
जुन भूपिनको जहाजमा यात्रा गर्दा अनुभव गर्न सकिन्छ। 'सपना' कवितामा सपना र विपनाबीच हुने खाडलको गहिराइ नापेको पाइन्छ भने 'रुख' भन्ने कवितामा प्रकृति वनसम्पदा एक अनुपमता हो, जो नवधनाढ्यको विलासिताले दिनानुदिन अधिक दोहन भएको छ भनेका छन कविले। 'छायाँ' कविता छायाँको जीवनमा कुनै अर्थ हुन्छ र ?
तर साथ पनि छोड्दैन । आखिर छायाँजस्तै साथ दिने प्रेमी-प्रेमिकाको खाँचो छ यस काव्यिक प्रस्तुतिमा। जीवन दौड हो भन्दै 'दौड' कवितामा कुनै चिज प्राप्त गर्न जीवनमा संर्घषरत दौडको निरन्तर अपरिकार्यता दर्शाइएको छ। 'साँझमा रेल यात्रा' कविता यात्रास्मण बाहेक बेसुर र असान्दर्भिक छ।
याे पनि हेर्नुहाेस।
'बच्चाहरु नभएको बस्ती' भने कवितामा बालबालिका प्रेणाका श्रोत हुन मायाका खानी हुन भन्दै बच्चाहरु नभएका बस्तीहरु पनि उराठ, क्रुर र रुखा हुन्छन् भनेका छन्। 'फूलको वान्ता' र नदी प्रकृति र प्राकृतिक सौन्दर्यताको बखान गरेको कविता हो भने यस खण्डको अन्तिम कविता 'बीउ कविताहरु' छरिएको भाव समेटेर लेखिएको उत्तर आधुनिक धाराको कविता जस्तो छ।
अन्तिम खण्डमा छ वटा कविता समेटेका छन्। कविले सवै कविताको शीर्षक गाउँ नै राखेका छन्। सबै कविताको भावभंगी भने ग्रामिण परिबेशको छ जसमा बनपाखा, खोला, खोल्सा, गरिबी, गाउँलेजीवन, गाउँले कामधाम लगायत विषयवस्तु समेटेका छन्। यसरी यस खण्डमा एकैनासको भाव पाइन्छ । तर कविताहरु रोचक भने अवश्य छन्।
वुकहिल प्रकाशनले बजारमा ल्याएको सो कृतिमा चार खण्डमा बाँडेका कविता सङ्ग्रहमा पचास वटा कविताहरु छन्। आयातित हिन्दी र अंग्रेजी भाषाका शब्दले स्थान पाएको छ,। दार्शनिक नित्सेको ईश्वरको मृत्यु र डाइलन थोमस र एण्ड्रयु मार्वल जस्ता कविहरूको विचारको सापटी पनि लिएका छन कविले ।
फुटकर त्रुटीहरूबाहेक भूपिनका अन्य कविताहरु पठनीय छन्। तसर्थ सुप्लाको हवाइजहाज गध्य साहित्य प्रेमीका लागि यात्रारत कृर्ति हो, एकपटक बुकहिलबाट रु ३५० को टिकट काटीसुप्लाको हवाइजहाजमा यात्रा अवश्य गर्नुहोला।
याे पनि पढ्नुहाेला।