बलात्कार पछि हत्या गरी अमेरिका भागेका गौतमलाई इन्टरपोलमार्फत नेपाल ल्याइयो

तस्बिरः एजेन्सी

बलात्कार गरेर हत्या गरी अमेरिका फरार भएका एक जना नेपालीलाई अमेरिकी प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको छ।

झापा चन्द्रगढी ३ घर भइ हाल अमेरिकामा लुकेर बस्दै आएका लिलाराज गौतमलाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एक वर्ष अगाडि फेब्रुअरी १३ मा पक्राउ गरेको थियो। त्यसपछि अमेरिकी प्रहरीले गौतमलाई कानुनी प्रक्रिया पुरा गर्नका लागि अमेरिकी अध्यागमनमा बुझाएको थियो। सम्पूर्ण प्रक्रिया पुरा गरी अमेरिकाले गौतमलाई बुधबार नेपाल फर्काएको हो।

गौतमलाई बिहान टर्किस एयरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको नेपाल प्रहरीका प्रवक्त डिआईजी विश्वराज पोखरेलले जानकारी दिए। २०५७ साल असोज २९ गते राति उनीसहित मनोज खड्का र सिताराम खड्काले चद्रगढी ३ की एक युवतीको सामूहिक बलात्कार गरेका थिए। त्यसपछि उनीहरुले युवतीको घाँटी थिचेर हत्या गरेका थिए।

हत्यापछि उनीहरूले युवतीको शव रूखमा झुण्डाएका थिए। मृतकका बुवाले ३ जनाविरूद्ध उजुरी दिए। प्रहरीले गौतमलाई त्यसबेला नै पक्राउ गरेको थियो। तर, २०५८ साल कात्तिक २१ गते जिल्ला अदालत झापाले उनलाई सफाइ दिएको थियो।

मृतक युवतीका बुबाले जिल्ला अदालतको निर्णय चित्त नबुझेपछि पुनः पुनरावेदन अदालत गएका थिए। पुनरावेदन अदालत विराटनगरले पनि जिल्ला अदालतको फैसलालाई नै सदर गरेको थियो।

त्यसपछि उक्त मुद्दा सर्वोच्चमा पुगेको थियो। सर्वोच्चले २०६६ भदौ १९ गते आरोपित गौतमलगायतका व्यक्तिहरूलाई जिल्ला र पुनरावेदनले गरेको निर्णय उल्ट्याउँदै जन्मकैदको फैसला सुनाएको थियो।

प्रकाशित मिति: : 2019-10-23 12:23:23

प्रतिकृया दिनुहोस्