च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब वायर्न म्युनिखले संघर्षपूर्ण जित निकालेको छ ।
बुधबार बिहान भएको खेलमा वायर्नले ग्रिसको ओलम्पियाकोसलाई ३–२ गोल अन्तरले हराएको छ ।वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । कोर्टिन टोलिस्सोको नाममा एक गोल रह्यो ।ओलम्पियाकोसका लागि युसेफ अल अरबी र गुइल्हेर्मीले एक एक गोल फर्काए ।
खेलको सुरुवाती अग्रता भने ओलम्पियाकोसले लिएको थियो । ओलम्पियाकोसका लागि २३ औं मिनेटमा अरबीले गोल गरे । त्यसपछि ३४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई १–१ को बराबरीमा ल्याए ।
खेलको ६२ मिनेटमा वायर्नले अर्को गोल थप्यो । वायर्नका लागि लेवान्डोस्कीले दोस्रो गोल गरे । यता ७५ औं मिनेटमा वार्यनका लागि टोलिस्सोले गोल गर्दै अग्रता ३–१ मा पुर्याए । तर,खेलको ७९ औं मिनेटमा पुनः ओलम्पियाकोसका गुइल्हेर्मीले गोल गर्दै खेल ३–२ मा ल्याएपनि जित निकाल्न सकेन ।
जितसँगै समूह बी को वायर्नले शतप्रतिशत जितलाई कायम राखेको छ । वायर्नले ३ खेलमा ९ अंक जोडेको छ । र, वायर्न लिगको शीर्ष स्थानमा छ ।
ओलम्पियाकोस ३ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।