पर्साको पकहामैनपुर गाँउपालिकाको उपाध्यक्ष कुसुमी देवीसहित जनप्रतिनिधिले गाउँपालिकाको गाउँपरिषद बहिष्कार गर्ने बताएका छन्। उपाध्यक्ष कुसुमीसहितका १५ जना जनप्रतिनिधिले नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सोमबार पत्रकार सम्मेलन गरी पाँच सूत्रीय माग राख्दै गाउँ परिषद बहिष्कार गर्ने बताएका हुन्। उपाध्यक्ष कुशुमी देवीको नेतृत्वमा संर्घष समिति नै गठन गरेर विभिन्न ४ सूत्रीय माग राखी गाउँ परिषद वहिस्कार गर्ने निर्णय गरेका हुन्।
उपाध्यक्ष नेतृत्वका जनप्रतिनिधिले गत आर्थिक वर्ष २०७५/७६ को सम्पूर्ण आय–व्ययको विस्तृत विवरण सार्वजनिक गरि वेभसाईटमा राख्नुपर्ने तथा चालु आर्थिक वर्ष २०७६/७७ को गाउँपरिषद गर्नको लागि हरेक वडाबाट वडा समितिको निर्णय अनुसार योजना संकलन गरी परिषद गर्नुपर्ने, धारा जडानको लागि करिब ९ लाख रकम निकासा भए पनि धारा जडान नगरेकाले उक्त रकम कहाँ खर्च भएको सो कुरा प्रस्ट पार्नुपर्ने र स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स मर्मतको नाममा करिब ५ लाख रकम भुक्तानी भए पनि एम्बुलेन्स हालसम्म स्वास्थ्य चौकीमा नआएकाले त्यसको कारणबारे जानकारी दिनुपर्नेलगायतका माग राखी आउँदो ८ गते हुने गाउँ परिषद बहिष्कार गर्ने पत्रकार सम्मेलनमा उपाध्यक्ष कुसुमी देवीले जानकारी गराएकी छिन्।
गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई विकास निर्माणको गतिविधिहरू वेभसाईटमा राख्न भनिए पनि अहिलेसम्म नराख्दै अटेरी गरेको आरोप रहेको छ।
प्रमुख विजय चौरसीयाले आफू खुसी राजनीतिक भागबण्डामा आफ्नो नातागोता, भाइ, भतिजा, छोराको अनियमित तरिकाले गरिएको नियुक्ति खारेज गरि पारदर्शी रूपमा विज्ञापन गरि योग्य, सक्षम कर्मचारी भर्नागर्नुपर्ने माग राख्दै परिषद बहिस्कार गर्ने निर्णय गरेको उप-मेयरलगायत अन्य सहभागी जनप्रतिनिधिले बताएका छन्।
कार्यपालिका सदस्य महमद जाकिर हुसेन, शिलादेवि लगायत वडा सदस्यले गाउँपरिषदमा सहभागी नहुने बताएका छन्। पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष कुसुमी देवीले आफूहरूले राखेका मागहरू पुरा नगरि जबर्जस्ती गाउ–परिषद गर्न खोजे चरणबद्घ आन्दोलनमा उत्रन बाध्य हुने जानकारी गराईन्।