वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले लगातार दोस्रो जित हात पारेको छ।
शुक्रबार टियु क्रिकेट मैदानमा ललितपुर चितवनसँग ८९ रनले पराजित भएको हो । १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको ललितपुर १७.१ ओभरमा अल आउट हुँदै ४६ रनमा समेटियो ।
ललितपुरका लागि कप्तान नेरी थापाले १७ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।ललितपुरको इनिङ ध्वस्त पार्ने क्रममा चितवनकी कविता गौतमले ३ विकेट र ऋतुले २ विकेट हात पारे।
त्यसअघि टस हारेर ब्याटिङ थालेको चितवन २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ३५ रन जोडेको थियो। रितु कनौजियाले ५८ रनको अविजित अर्ध शतकीय इनिङ खेलिन् । कनौजियाले ५५ बलमा ८ चौका प्रहार गरिन् । कनौजियाले १५ ओभरको दोस्रो बलमा कविता जोशीलाई चौका प्रहार गर्दै ३९ बलमा अर्ध शतक पुरा गरेकी थिन् ।
बलिङमा ललितपुरकी नेरी थापाले २ विकेट लिइन्।
जारी प्रतियोगितामा पाँचै वटै टिमले २–२ खेल खेल्दा चितवन र विराटनगरले दुवै खेल जितेका छन्। काठमाडौं एक खेलमा विजयी हुँदा ललितपुर र पोखरा पल्टन दुवै खेलमा पराजित भएका छन्।