एनआरएन आइसीसीको नयाँ नेतृत्वका लागि मतगणना जारी छ । कूल २३४४ मतदान भएकोमा यो समाचार तयार पारून्जेल २१०० जति मतगणना भएको छ ।
मतगणनाको परिणामलाई अत्यन्तै गोप्य राखिएकाले अहिले बाहिर आएका तथ्यांकहरू यथार्थमा छैनन् । अब मध्यपूर्वको मत गन्न बाँकि छ ।
मतगणनास्थलमै भएका एक प्रतिनिधिले बताएअनुसार अध्यक्षका लागि तीब्र प्रतिस्पर्धा रहेका छ । कुमार पन्तलाई दुई संख्याको बढोत्तरी मिलेको छ र मध्यपूर्वमा पनि यही अग्रता कायम हुने आँकलन गरिएकाले अध्यक्षमा पन्त थोरै मतान्तरमा जित्ने सम्भावना देखिएको छ ।
चार स्थानका लागि भएको उपाध्यक्षको परिणाम पनि यसै भन्न सकिने अवस्थामा छैन । पछिल्लो अवस्थामा डा. बद्री केसी, अर्जुन श्रेष्ठ, मन केसी र नरेन्द्र भाट क्रमश: प्रथमदेखि चौथो स्थानमा रहेका छन् । नेम्रिकाने उम्मेद्वार डा. केशव पौडेल पाँचौ र सोनाम लामा छैठौ स्थानमा रहेका छन् । तर, तेस्रोदेखि छैठौसम्को मतान्तर ज्यादै थोरै भएकाले यसै भन्न सकिने अवस्था छैन ।
महिला उपाध्यक्षमा कुल आचार्य समूहकी रविना थापा निक्कै पछि परेको बताइएको छ । उनलाई कुल आचार्य समूहकी सपिला राजभण्डारीले पछि पारेकी हुन् ।
महासचिवमा पन्त समुहकै डा. हेमराज शर्मा केही मतले अगाडि रहेको बताइएको छ । तर, यसको स्वतन्त्र पुष्टी गर्न सकिएको छैन । सचिवमा अमेरिकाका गौरीराज जोशीको फराकिलो मतान्तर रहेकाले उनको जीत लगभग निश्चित जस्तै देखिएको छ ।