जनकपुर विमानस्थलमा प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भएको छ । साह राष्ट्रिय जनता पार्टी नेपालका सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् ।
मंगलबार विहान १० बजे जिल्ला प्रहरी कार्यालय धनुषामा नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सृजना गरेको भन्दै गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
साहले सोमबार बिहान ११ः ४० बजे जनकपुरबाट काठमाडौं उड्ने विमान करिब २ घन्टा ढिलो भएको भन्दै उनले काउन्टर तोडफोड गर्नुका साथै कर्मचारीमाथि आक्रमण गरेका थिए।
सांसद साहले बिहान ११ः४० बजेको बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा किडनीका विरामीलाई समयमै काठमाडौं पुग्नुपर्ने भएकाले बिरामी छटपटाउन थालेपछि आफू आवेगमा आएर तोडफोड गरेको संचारकर्मीसमक्ष स्वीकारेका छन्।