उडान ढिलो भएको भन्दै सांसद साहद्वारा बुद्ध एयरको काउण्टरमा तोडफोड, कर्मचारीमाथि हातपात

तस्बिरः बिएल

राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलस्थित बुद्ध एयरको काउण्टरमा तोडफोड र कर्मचारीमाथि हातपात गरेका छन्।

सोमबार बिहान ११: ४० बजे जनकपुरबाट काठमाडौं उड्ने विमान करिब २ घन्टा ढिलो भएको भन्दै उनले काउन्टर तोडफोड गर्नुका साथै कर्मचारीमाथि आक्रमण गरेका हुन्।

११: ४० बजवे उड्नुपर्ने जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा आक्रोशित हुँदै सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गर्नुका साथै कर्मचारीलाई कुटपिट गरेका हुन् ।

सांसद साहले बिहान ११:४० बजेको बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा किडनीका विरामीलाई समयमै काठमाडौं पुग्नुपर्ने भएकाले बिरामी छटपटाउन थालेपछि आफू आवेगमा आएर तोडफोड गरेको संचारकर्मीसमक्ष स्वीकारेका छन्।

'किड्नीका बिरामी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ६५ वर्षिय सौखीलाल चौधरीलाई काठमाडौं पठाउन आफूले विमानस्थलका व्यवस्थापकलाई पटक पटक फोन गर्दा समेत कुनै चासो नदेखाएपछि विरामी पीडाले छटपटाईरहेको अवस्थालाई देखेर आफूले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको हुँ', सांसद साहले भने ।

उनले विमानस्थलमा कर्मचारीको लापरवाहीका कारण समय समयमा यस्ता घटना हुँदै आए पनि विमानस्थल प्रशासनले कुनै ध्यान नदिएको गुनासो समेत गरे।

यता विरामी चौधरीले आफू काठमाडौं उड्न बिहान ११ बजे नै बिमानस्थल आए पनि दिउँसो २ बजेसम्म बस्दा समेत विमानस्थलका कर्मचारीहरुले कुनै वास्ता नगरे पछि सांसद साहले मेरो अवस्था हेरेर आवेगमा आएको बताए।

बुद्ध एयरका व्यवस्थापक प्रमुख विजय कुमार सिंहले काठमाडौंको प्राविधिक कारणले विमान ढिलाई भएको र सो विषयमा यात्रुहरुलाई जानकारी गराउँदासमेत सांसद साहले एक्कासी आएर काउण्टर माथि तोडफोड गर्नुका सागै कर्मचारीसँग दुर्व्र्यवहार गरेको बताए।

सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था तनावग्रस्त बनेको थियो। बुद्ध एयरको सोही फ्लाईटमा काठमाडौं जान लागेका सांसद साहलाई बुद्ध एयरका कर्मचारीहरु र व्यवस्थापक प्रमुख सिंहले विमान चढ्नबाट रोकेका थिए ।

सो क्रममा सांसद साह र व्यवस्थापक प्रमुख बिच हातपात समेत भएको थियो। घटनाले उग्ररुप लिएपछि धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको पहलमा सांसद साहलाई विमानबाटै काठमाडौं पठाइएको छ।

प्रकाशित मिति: : 2019-10-14 17:44:00

प्रतिकृया दिनुहोस्