मुस्कानमाथि एसिड प्रहार गर्ने दुई युवकलाई अदालतमा पेश गरिंदै

फाइल तस्बिर

वीरगञ्जकी १४ बर्षिय मुस्कान खातुन माथि एसिड प्रहार गर्ने दुई युवकलाई प्रहरीले अदालतमा पेश गर्ने तयारी गरेको छ ।

उनी माथि एसिड प्रहार भएको ३८ दिन बितिसकेको छ । कानुनतः अभियुक्तलाई २५ दिनभन्दा बढी हिरासतमा राख्न नपाउने नियम छ । दशैं विदाका कारण अदातल मंगलबारबाट मात्रै खुल्दैछ ।

जिल्ला सरकारी वकिल कार्यालय पर्साका अधिवक्ता रुद्र पन्थिले एसिड आक्रणकारीलाई मंगलबार अदालतमा पेश गर्ने जानकारी दिए । ‘असोज १२ गते नै कागजपत्र हामीकहाँ आएको हो, अदालत नखुलेका कारण मुद्धा अदालतमा पेश गर्न पाईएको छैन,’ उनले भने, ‘अभियोग पत्र तयार गरेर मंगलबार अदालत खुलेपछि मुद्धा पेश गर्ने गरी तयारी भइरहेको छ ।’

प्रहरीले काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानको बयान लिइसकेको अधिवक्ता पन्थिले जानकारी दिए। एसिड प्रहार गर्नेहरु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १८३ (ज्यान मार्ने उद्योग) र १९३ (तेजाव वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने) मुद्धा दर्ता गरिंदैछ ।

जसमा दफा १३८ को उपदफा २ बमोजिम १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरीवाना, १९३ को उपदफा २ बमोजिम ५ देखि ८ वर्ष कैद र १ लाखदेखि ५ लाख जरीवाना र सोही दफाको उपदफा ३ बमोजिम जरीवाना वापत प्राप्त हुने पुरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनुपर्ने माग गरिएको छ ।

प्रकाशित मिति: : 2019-10-14 13:14:49

प्रतिकृया दिनुहोस्