डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनशन बस्ने चेतावनी दिएका छन् । उनले माग पूरा गर्न कात्तिक ८ गतेसम्म (११ दिने)अल्टिमेटम दिएका छन् ।
सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा. केसीले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए ।
डा. केसीले चिकित्सा क्षेत्रमा सुधार, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य हुनुपर्ने, विभिन्न आयोगले दोषी ठहर्याएकालाई कारवाही हुनुपर्ने, अबैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही हुनुपर्ने लगायतका माग राखेका छन् ।
त्रिवि शिक्षण अस्पतालको सेवाबाट अवकासप्राप्त उनले अब कहाँ अनशन बस्छन् भन्नेबारे खुलाएका छैनन् । ‘नेपालीको स्वास्थ्य र शिक्षाका लागि लडेकाले जहाँ गए पनि जनताको सहयोग मलाई हुन्छ ।', डा. केसीले भने ’‘नेपाली नागरिक भएकाले देशको जुनसुकै कुनाकाप्चामा पुगेर अनशन बस्न सक्छु।’