बाल्यकालमा मेरा लागि दसैं रमाइलोकै कुरा थियो । मिश्रित समाजमा हुर्केको हुनाले सानोमा दसैं भन्नेबित्तिकै रमाइलो नै हुन्थ्यो । दसैं आएपछि खुशी हुन्थ्यौं । नयाँ लुगा लगाउन पाइने, गाउँभरि पाहुना र आफन्तको भीड लाग्ने हुनाले हामी केटाकेटी रमाउँथ्यौं । भाग्दैभाग्दै मामाघर जानेदेखि लड्ने गरी पिङ खेल्नेसम्मका काम दसैंमा नै गरिन्थ्यो । त्यसकारण दसैंप्रति मेरो भावनात्मक समर्थन प्यारो छ ।
यस्तै, मेरो हजुरबुबाको चन्द्रशमशेरसँग दोस्ती थियो । उनले गाउँभरिमै सबैभन्दा ठूलो समारोह गरेर दसैं मनाउँथे । दसैंमा ठूलो भोजभतेर हुन्थ्यो । गाउँघरका सबै मानिस टीका लगाउन हाम्रै घरमा आउँथे । तर, बाध्यात्मक रूपमै किराँतीलाई दसैं मान्न लगाइयो भन्ने उहाँलाई बोध भएपछि २०४७ पछि हजुरबुबाले पनि दसैं मान्न छोड्नुभो ।