सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले अहिले टेष्ट राष्ट्र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
इन्डियन एसोसियसनको मैदानमा जिम्बावेविरुद्ध नेपालले सुरुवातमा बलिङ गरिरहेको छ । पावरप्लेमा जिम्बाब्वेको तीन विकेट पतन भएको छ ।
पहिलो विकेटका रुपमा पहिलो ओभरको चौथो बलमा सन्दीप लामिछानेले जिम्बाब्वेका ओपनर ब्रायन चरीलाई एलबीडब्लू आउट गरेका हुन् । त्यसपछि चौथो ओभरको चौथो बलमा सोमपाल कामीले चाकाभालाई बोल्ड आउट गरेका हुन् ।
सन्दीप लामिछानेको गूग्लीको सामना गर्ने क्रममा जिम्बाब्वेका पी जे मूर बोल्ड आउट भएका हुन् ।नेपाली टिममा आज एक जना खेलाडी परिवर्तन गरिएको छ । यसअघि ओपनिङमा आएका इशान पाण्डेको ठाउँमा पवन शर्राफलाई खेलाइएको छ ।
यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल जिम्बावेसँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै सिङ्गापुरलाई नौ विकेटले पराजित गरेको थियो । सिरिजमा प्रतिस्पर्धा गरिरहेका नेपाकल, जिम्बावे र आयोजक सिङ्गापुरले समान दुई–दुई अङ्क जोडेका छन् ।
आइतबार सम्पन्न खेलमा जिम्बावे सिङ्गापुरसँग पराजित भएको छ । सिङ्गापुरले जिम्बावेलाई चार रनले पराजित गरेको हो । अङ्क तालिकामा नेपाल रन रेटको आधारमा शीर्ष स्थानमा छ । जिम्बावे दोस्रो तथा सिङ्गापुर तेस्रो स्थानमा छ । डबल राउन्ड रोबिनका आधारमा खेलाइएको उक्त सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ ।