नेपाल-युएई हवाई सम्झौता, मन्ट्रियलमा भयो हस्ताक्षर

नेपालका पर्यटनमन्त्री योगेश भट्टराई र युएईका अर्थमन्त्री सुल्तानविन सइद एइम्सुरी नेपाल–युएइवीच भएको हवाई सेवा सम्झौता आदानप्रदान गर्दै । तस्बिर : नेपाली राजदूताबास, क्यानडा ।

नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)वीच क्यानडामा शनिवार हवाई सेवा सम्झौता भएको छ । क्युवेकको मन्ट्रियल शहरमा जारी अन्तराष्ट्रिय नागरिक उड्डयन संघ (इकाओ) को ४० औं महासभामा सहभागी दुई देशका मन्त्रीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र युएईका अर्थमन्त्री सुल्तानविन सइद एइम्सुरीले नेपाल–युएइवीच भएको हवाई सेवा सम्झौतामा हस्ताक्षर गरेका हुन् । इकाओ महासभामा सहभागी हुन क्यानडा आएका दुबै मन्त्री मन्ट्रियलमा छन् ।

इकाओ महासभामा सहभागी हुन आएकै अवसरमा मन्त्रीस्तरीय भेटघाट र छलफल भइसकेपछि सम्झौतापत्रमा हस्ताक्षर भएको क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले बताए । सम्झौतापत्रमा हस्ताक्षर गर्ने बेलामा नेपाली टोलीमा राजदूत ढुंगाना पनि सामेल थिए ।

हवाई सेवा सम्झौतापछि मन्त्री भट्टराईले युएइसँग विगतमा भएका समझदारीलाई अनुमोदन गर्दै थप बलियो बनाएको उल्लेख गरेका छन् । धेरै नेपाली युवाको रोजगारी गन्तव्य बनेको युएइसँग हवाई सेवा सम्झौता हुनु नेपालका लागि निकै महत्वपूर्ण छ ।

‘सम्झौताले अन्तर्राष्ट्रिय नियम तथा अनुबन्धनहरुको परिपालना गर्दै दुई देशवीचको हवाई सेवालाई थप सुरक्षित र विश्वासिलो बनाउन सहयोग पुग्नेछ’ सम्झौतापत्रमा हस्ताक्षर गरेपछि मन्त्री भट्टराईले भनेका छन्, ‘आपसी सहयोग आदानप्रदानमा यसले मद्दत पुर्याउनेछ ।’

इकाओ महासभामा सहभागी हुन मन्ट्रियल आएका नेपाली कर्मचारीले युएईसँग मन्त्रीस्तरमा हवाई सेवा सम्झौता हुने भएपछि त्यहीं सम्झौतापत्र तयार पारेका थिए । इकाओ मुख्यालयमै सम्झौतापत्रमा हस्ताक्षर भइसकेपछि मन्त्री भट्टराईले नेपाली कर्मचारीलाई धन्यवाद दिएका छन् ।

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र युएईका अर्थमन्त्री सुल्तानविन सइद एइम्सुरीले नेपाल–युएइवीच भएको हवाई सेवा सम्झौतामा हस्ताक्षर गर्दै । तस्बिर : नेपाली राजदूतावास, क्यानडा

मन्ट्रियलमा सेप्टेम्बर २४ देखि जारी इकाओ महासभा अक्टोवर ४ सम्म चल्नेछ । मन्त्री भट्टराई नेतृत्वको नेपाली टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव सुरेश आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, राजदूत ढुंगाना आदि सहभागी छन् ।

महासभालाई सम्वोधन, उच्चस्तरीय भेटघाट र महत्वपूर्ण सम्झौता गर्ने काम सकिएकाले मन्त्री भट्टराई आइतवार स्वदेश फर्कंदैछन् । नेपाली टोलीका बाँकि प्रतिनिधि महासभाको अन्त्यसम्मै सहभागी हुने राजदूत ढुंगानाले जनाए । महासभामा नेपालसहित १९३ राष्ट्रका प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति: : 2019-09-29 05:26:16

प्रतिकृया दिनुहोस्