कप्तान पारस खड्काको कीर्तिमानी सतकको मद्दतमा नेपालले घरेलु टोली सिंगापुरलाई ९ विकेटले हराएको छ। सिंगापुरमा जारी जिम्बाम्बे, सिंगापुर र नेपाल सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गतदोस्रो खेलमा नेपालले सिंगापुरलाई सहजै हराएको हो।
सिंगापुरले दिएको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो।
नेपालको सहज जितमा कप्तान पारस खड्काले विस्फोटक ब्याटिङ गर्दै नटआउट सतकीय इनिङ्स खेले। ४९ बलमा सतक प्रहार गरेका खड्काले ५२ बल खेल्दै ९ छक्का र ७ चौका प्रहार गरेका थिए।
त्यसअघि ओपनर इशान पाण्डेलाई दोस्रो ओभरको तेस्रो बलमा जनक प्रकाशले ५ रनमा एलवी डब्लू आउट गरेका थिए । पारस र आरिफले उत्कृष्ट साझेदारी गर्दै नेपालको जित पक्का गरेका थिए । यो विकेटको हिसावले नेपालले हात पारेको टि२० आईमा सबै भन्दा ठूलो जित समेत हो । ३८ बल खेलेका शेखले ५ चौकासहित ३९ रन बनाए।
कप्तान पारस र आरिफले तेस्रो विकेटका लागि १ सय ४५ रनको शतकीय अविजित साझेदारी गरे । जुन टि२० आईमा कुनै पनि विकेटका लागि नेपालले गरेको उच्च साझेदारी हो ।
यसअघि पहिले ब्याटिङ गरेको सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको थियो।
सिंगापुरका लागि कप्तान टिम डेभिडले रनको ६४ अर्धशतकीय इनिङ्स खेले। यस्तै जनक प्रकाशले अविजित २५ रन बनाए।सुरेन्द्रन चन्द्रमोहनले ३५ रन तथा मन प्रित सिंहले १५ रन बनाएका थिए।
नेपालका लागि करण केसीले २ विकेट लिए । यस्तै डेब्यु खेलाडी सुशन भारीले १ विकेट हात पारे।
पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो।