नेपालका पर्यटनमन्त्री भट्टराईले टोरन्टोबाट दिए नेपाल भ्रमणको चुल्हेनिम्तो

क्यानडाको टोरन्टोमा आयोजित कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० को चुल्हेनिम्तो दिदै पर्यटनमन्त्री योगेश भट्टराई । तस्बिर सौजन्य : नेपाली राजदूतावास, क्यानडा ।

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शुक्रवार टोरन्टोमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा सहभागी भएका छन् । क्यानेडियन नागरिकलाई नेपाल घुम्ने निम्तो दिन दिउँसो डाउनटाउन पुगेका मन्त्री भट्टराई साँझ नेपालीको आतिथ्य स्वीकार्न नर्थयोर्क पुगेका हुन् ।

क्यानडा भ्रमणमा रहेका मन्त्री भट्टराई मन्ट्रियलबाट अटोवा हुँदै बिहिवार अपरान्ह क्यानडाको सबैभन्दा ठूलो सहर टोरन्टो आइपुगेका हुन् । नेपाली राजदूतावासले क्यानेडियन पर्यटन व्यवसायी निम्त्याएर गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले ‘भिजिट नेपाल २०२०’ अवसरमा नेपाल घुम्न आग्रह गरे । 

‘सर्बोच्च शिखर सगरमाथा र बुद्ध जन्मस्थल लुम्बिनी भएकाले मात्रै होइन, प्रकृतिका अरु थुप्रै उपहारले पनि नेपाल घुम्नलायक देश छ’ मन्त्री भट्टराईले क्यानेडियन सरोकारवालामाझ मन्तव्य राख्दै भने, ‘छुट्टी मनाउन कतै निस्कँदै हुनुहुन्छ भने यसपल्टको गन्तव्य नेपाल रोज्नुहोस्, पक्कै पछुतो हुने छैन ।’



‘भिजिट नेपाल २०२०’ को प्रचारकै लागि दूतावासले टोरन्टोस्थित नेपाली महावाणिज्यदूतसँग समन्वय गरी आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराई प्रमुख अतिथि थिए । डाउनटाउनस्थित ऐतिहासिक नेशनल क्लवमा सम्पन्न कार्यक्रममा हिमालय भाइब्सले रेसम फिरिरि प्रस्तुत गरेको थियो भने स्थानीय नेपाली कलाकारले मौलिक नेपाली सांस्कृतिक बान्कीहरू प्रस्तुत गरे ।

नेपाल घुम्ने निम्तो दिन मन्त्री स्वयं उपश्थित कार्यक्रमममा क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले अतिथिको स्वागत गर्दै ‘भिजिट नेपाल २०२०’ बारे संक्षिप्त चर्चा गरेका थिए । कार्यक्रममा नेपालका महत्वपूर्ण पर्यटकीय स्थल तथा कला संस्कृति झल्कने बारे तयार पारिएको सामग्री प्रदर्शन गरिएको थियो । कार्यक्रममा ४४ पटक नेपाल भ्रमण गरिसकेका सर एडमन्ड हिलारी फाउन्डेसन, क्यानडाका सस्थापक सदस्य ९३ बर्षीय विलियम जेक अर्नरका साथै क्यानेडियन पर्यटन क्षेत्रका सरोकारवालाको बाक्लो उपस्थिति थियो । 


क्यानडाबाट नेपाल घुम्न जाँदा लाग्ने समय, खर्च आदिबारे जानकारी दिँदै साहसिक पर्यटन र जीवन्त कला संस्कृतिका निम्ति नेपाल अनुपम गन्तव्य रहेको क्यानडाका लागि नेपाली महावाणिज्यदूत कुञ्जरमणि शर्माले बताए । मन्त्रीकै उपश्थितिमा ‘भिजिट नेपाल २०२०’ प्रचार गर्न धेरैलाई निम्त्याइएपनि ठीकै मात्र उपस्थिति थियो । 

क्यानडाका धेरैवटा टुर्स एण्ड ट्राभल्स, एअरलाइन्स, टुर अपरेटर कम्पनीका अतिरिक्त नाम चलेका पर्वतारोही, पर्यटन व्यवसायी र सञ्चारमाध्यमसमेतलाई बोलाइएको भए पनि उनीहरुको अपेक्षित उपश्थिति थिएन । मन्त्री भट्टराई क्यानडा आएपछि हतारमा कार्यक्रम तय भएकाले धेरैको सहभागिता नदेखिएको आयोजक बताउँछन् । 

त्यसपछि मन्त्री भट्टराईको टोली नर्थयोर्कस्थित पाटियो ब्याङ्क्वेट पुगेको थियो । त्यहाँ गैर आवासीय नेपाली संघ, क्यानडाले ‘भिजिट नेपाल २०२०’ सफल पार्न के कसो गर्ने भन्नेबारे छलफल राखेको थियो । जसमा राजदूत ढुंगाना र महावाणिज्यदूत शर्मा, एनआरएनए क्यानडा अध्यक्ष चिरञ्जिवी घिमिरेसहित दर्जनौंको सहभागिता थियो । 

‘भौगोलिक दूरी जतिसुकै टाढा भएपनि यस्ता भेटघाटले त्यो बिर्साउँछ र मातृभूमिप्रति अपनत्व बढाउँछ’ कार्यक्रममा एनआरएनए अध्यक्ष घिमिरे भन्दैथिए, ‘भिजिट नेपाल २०२० सफल पार्न हामी सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।’ कार्यक्रममा टोरन्टो क्षेत्रका थुप्रैवटा नेपाली संघ संस्थाका प्रतिनिधि सहभागि थिए । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ (इकाओ) को ४०औं महासभामामा सहभागी हुन मन्ट्रियल आएका मन्त्री भट्टराई नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित कार्यक्रममा सहभागी हुन टोरन्टो आएका थिए । मन्त्री भट्टराईको टोरन्टोबाट मन्ट्रियल नै पुगेर आइतवार नेपाल फर्कने तालिका छ । 

प्रकाशित मिति: : 2019-09-28 05:03:21

प्रतिकृया दिनुहोस्