पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टसँगको पारिवारिक सम्बन्धका कारण दरबारको विषयमा हामी पहिलेदेखि नै जानकार थियौं।
मेरो पिताजी र जननेता विपी कोइरालाले सँगै बनारसमा पढ्नुभएको थियो। त्यसैले दुईबीच निकै आत्मीय सम्बन्ध थियो।
तर, २०१७ सालमा राजा महेन्द्रले विपी कोइरालाको सरकार अपद्स्थ गरेपछि मेरो पिताजी चेपुवामा पर्नुभयो। उहाँ विज्ञान विषयमा स्नातक गरेको मान्छे। फेरि विपीको निकट पनि। महेन्द्रले यही बुझेर हुनुपर्छ, पिताजीलाई पूर्वाञ्चलको देश दौडाहामा समावेश गरे।
२०३३ सालमा विपी मेलमिलापको नीति लिएर नेपाल फर्किँदा राजा वीरेन्द्रसँग एक प्रकारको समझदारी थियो, दुवै बीच। तर, अनुदारवादी पञ्चहरुको कारण वीरेन्द्रले आफ्नो कार्यकालमा विपीलाई पुनर्स्थापित गर्न सकेनन्।
यद्यपि उनले २०३६ सालमा नेपाली कांग्रेसले उठाएको जनमत संग्रहको मुद्दालाई स्वीकार गरे।
वीरेन्द्र न्यायप्रेमी र देशमा विधिको शासन स्थापित हुनुपर्छ भन्ने मान्यता राख्ने राजा थिए। जेठ १९ गते ‘दरबार हत्याकाण्ड’ हुँदा एउटा ठूलो दुर्भाग्य भएको थियो।
वीरेन्द्र आत्म–सुरक्षाका लागि सधैं एउटा पेस्तोल आफैसँग राख्थे। उनी सार्प–सुटर पनि थिए। राम्रो सुटिङ क्षमता भए पनि उनलाई जंगल शिकारमा त्यति रूची थिएन।
युवराज हुँदादेखि उनी पैसाको क्वाइनलाई आकाशमा उडाएर त्यसमा निशाना लगाउँथे। यसमा उनलाई महारथ नै हासिल थियो।
त्यतिबेला युवराज दीपेन्द्रको विवाहलाई लिएर अनेक थरि कुरा बाहिर आइरहेको थियो। खासमा दीपेन्द्र पशुपति शमशेर राणाका छोरी देवयानीसँग विवाह गर्न चाहन्थे। तर, उनी चन्द्र शमशेरको खलक भएको भन्दै रानी ऐश्वर्या विरोधमा थिइन्।
दीपेन्द्रलाई लागेको थियो, ‘आफ्नो विवाह गराउने सम्बन्धमा आमाले आफ्नो पक्ष लिने छैनन्। तर, बुवा पक्कै आफ्नो पक्षमा उभिनेछन्।
यतिबेला राजा वीरेन्द्र युवराज दीपेन्द्रलाई राजकाज कसरी गर्ने भनेर सिकाइरहेका थिए। दीपेन्द्रको विवाहको मिति लम्बिँदै गइरहेको अवस्थामा जेठ १९ गते साँझ राजा वीरेन्द्र डिल्लीबजारस्थित बडा गुरुज्यूको घर पुगेका थिए।
आफ्नो गुरु”को घर जाँदा पेस्तोल बोकेर किन जानूँ! यही सोचेर वीरेन्द्रले त्यसदिन सधै बोक्ने २५–क्यालिबरको पेस्तोल नबोकी हिँडेका थिए।
दरबारमा शुक्रबार पारिवारिक जमघट हुन्थ्यो। त्यो दिन पनि शुक्रबार परेका कारण जमघट भएको थियो। बडा गुरूज्यूकहाँबाट नारायणहिटी दरबार फर्किने क्रममा केही ढिलो हुन गयो। त्यसैले वीरेन्द्र आफ्नो खोपीमा नपसी सिधै जमघट भएको स्थानमा पुगेका थिए।
यही उनीमाथि एक्कासी हमला भयो। त्यतिबेला वीरेन्द्रसँग सधै बोक्ने २५–क्यालिबरको पेस्तोल हुन्थ्यो भने रक्तपातपूर्ण त्यो घटना नहुन पनि सक्थ्यो।
राजा वीरेन्द्र नेपाली जनताबाट अत्याधिक रूचाइएका राजा थिए। यसैको उदाहरण हो, जेठ १९ मा उनको हत्या हुँदा सबैभन्दा बढी शोकमा नेपाली जनता नै डुबेका थिए।