मुग्लिन–पोखरा सडक चार लेनको बन्ने

मुग्लिन–पोखरा सडक चार लेनको बन्ने

काठमाडौँ, असोज ६ गते । साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा सो सडक विस्तार गर्न लागिएको हो । मुलुकको पर्यटकीय ‘हब’का रूपमा विकास भइरहेको पोखरालाई राजधानीसँग जोड्ने मुग्लिन–पोखरा सडक चार लेनको निर्माण गर्न अध्ययन प्रक्रिया अगाडि बढिसकेको जानकारी सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले दिनुभयो । सो सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको अन्तिम चरणमा पुगेको जानकारी उहाँले दिनुभयो ।

उहाँका अनुसार सो सडकको विस्तार दुई चरणमा गरिने छ । पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरासम्म र दोस्रो चरणमा मुग्लिन–आँबुखैरेनी खण्ड विस्तार गरिने छ । सडक निर्माणका लागि ठेक्का प्रक्रियाको तयारी भइरहेको छ । सो सडकको डीपीआर कोरियन इन्जिनियरिङ कन्सल्ट्यान्टले तयार पारिरहेको छ । एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक विस्तार गर्न लागिएको जानकारी प्रवक्ता सापकोटाले दिनुभयो । उहाँका अनुसार ऋण सहयोगका लागि एडीबीसँग सम्झौताको तयारी भइरहेको छ । आँबुखैरेनीदेखि पोखरासम्म करिब ८० किलोमिटर दूरी पर्छ । मुग्लिनदेखि आँबुखैरिनीसम्मको दूरी १३ भने किलोमिटर छ । प्रवक्ता सापकोटाका अनुसार गाउँबस्ती क्षेत्रमा ‘सर्भिस ट्र्याक’सहित सो सडक छ लेनको र अन्य ठाउँमा चार लेनको हुनेछ । त्यसैले गाउँबस्तीमा सो सडकको चौडाइ ४० मिटर अन्य स्थानमा २५ मिटर हुनेछ । सो सडक विस्तारका लागि करिब बीस अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति: : 2019-09-23 07:09:05

प्रतिकृया दिनुहोस्