भोलि सेप्टेम्बर २० अर्थात् असोज ३ । यो नेपालको ‘संविधान दिवस’ अर्थात् ‘नेपाल डे’ ।
क्यानडाको प्रान्तिय सरकारले ‘नेपाल डे’का अवसरमा नेपाली समुदायमाझ कार्यक्रमसहित दिवाभोज गरेको छ ।
‘नेपाल डे’ अवसरमा क्यानडामा पहिलोपल्ट यस्तो सरकारी आतिथ्य मिलेपछि नेपाली समुदाय उत्साही छ ।
विदेशमा ‘नेपाल डे’ भनेर परिचित छ संविधान दिवस ।
संविधानसभाबाट २०७२ असोज ३ गते संविधान घोषणा भएयता हरेक बर्ष त्यसै दिनलाई ‘संविधान दिवस’ मनाईंदै आएको छ ।
त्यसैको पूर्वसन्ध्यामा अन्टारियो प्रोभिन्सको विधानसभामा बिहिवार अपरान्ह औपचारिक कार्यक्रमसहित दिवाभोज गरिएको हो ।
सत्तामा रहेको ‘प्रोग्रेसिभ कन्जरवेटिभ पार्टी अफ अन्टारियो’ प्रमुख डग फोर्डको निमन्त्रणामा मिसिसागा–माल्टन क्षेत्रका सांसद दीपक आनन्दले ‘नेपाल डे’ अवसरमा दिवाभोज दिएका हुन् ।
नेपाली समुदायको बाक्लो बसोवास रहेको मिसिसागा–माल्टन क्षेत्रबाट उक्त पार्टीका तर्फबाट चुनाव जितेका थिए ।
चुनावमा नेपालीको राम्रै समर्थन पाएका उनले ‘त्यो जस तिर्न’ पनि ‘नेपाल डे’लाई पहिलोपल्ट विधानसभामा मनाउने अवसर दिलाएका हुन् ।
टोरन्टोको क्वीन्स पार्कस्थित अन्टारियो विधानसभाको सभाकक्षमा आयोजित कार्यक्रममा नेपाली समुदायका तर्फबाट एक सय जनालाई निम्त्याइएको थियो ।
नेपालीपन देखाउन धेरैजसो सहभागी दौरा सुरुवाल र सारी चोलोको मौलिक पहिरनमा उपस्थित थिए । विधानसभाको सभाकक्षमा करिव दुई घण्टा कार्यक्रम गरिएको थियो ।
क्यानडामा नेपालीको संख्या बढ्दै जाँदा प्रान्तिय सरकारबाट विधानसभामै बोलाएर यसरी कार्यक्रम गरिनुलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले ‘ठूलो उपलव्धि’ मानेको छ ।
‘यो क्यानडामा नेपाली समुदायको सरकारीस्तरबाट पहिचान हुँदै गएको एउटा उदाहरण हो’ अध्यक्ष चिरिञ्जिवी घिमिरेले भने, ‘अर्को बर्षदेखि यसलाई अझ व्यापक गरि मनानउन सहकार्य गर्नेछौं ।’
‘नेपाली संस्कृति झल्कने कार्यक्रम’ भनिए पनि छोटो समयावधि भएकाले उल्लेख्य प्रस्तुति हुन सकेन ।
कार्यक्रममा नयाँ संविधान जारी भएपछि नेपालको शान्ति सुरक्षा राम्रो भएकोदेखि ‘भिजिट नेपाल २०२०’ अवसरमा क्यानेडियन नागरिकलाई नेपाल घुम्न आग्रह गर्नेसम्मका काम भयो ।
त्यसपछिको दिवाभोजमा सहभागीलाई ‘नेपाली पहिचान झल्नके परिकार’का रुपमा मःम खुवाइएको थियो ।
अटोवास्थित नेपाली राजदूतावासका तर्फबाट प्रकाश अधिकारी, अवैतनिक महावाणिज्यदूत कुन्जर शर्मासहित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
नेपाली राजदूतावासले भने सोमबार अटोवास्थित राजदूतावासमै एक शान्त रात्रीभोजको आयोजना गर्ने जानकारी दिइएको छ ।