भारतमा 'मोदी-सुनामी'को अन्तिम परिणाम : भाजपाले जित्यो 'थ्री-नट-थ्री'

भारतमा मोदी म्याजिक चलेपछि कसैको केही लागेन ... तस्बिर : एजेन्सी

भारतमा तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम आएको छ। ५४३ मध्ये एक स्थानमा निर्वाचन स्थगित भएपछि ५४२ स्थानका लागि भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टीले स्पष्ट बहुमत पाएको छ।

सामान्य बहुमतका लागि २७२ स्थान जिते पुग्नेमा भाजपाले ३०३ निर्वाचन क्षेत्रमा विजय हासिल गरेर प्रचण्ड बहुमत ल्याएको हो।

विपक्षी कांग्रेस पार्टी भने ५२ सिटमै सीमित भएकाले प्रमुख विपक्षी दलको हैसियतसम्म प्राप्त गर्न सकेन।  एक चौथाइ स्थान नजितेसम्म भारतमा विपक्ष दलको मान्यता नपाइने व्यवस्था छ। यसअघि पनि कोही विपक्षी दलको नेता नभएको भारतमा यसपटक पनि कोही विपक्षी दलको नेता नहुने भएको छ। 

अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा भएको निर्वाचनमा भारतमा तीन ठूला चुनावी गठबन्धन बनेका थिए।भारतीय जनता पार्टीको नेतृत्वमा जनता दल युनियनसहितका दल मिलाएर बनाएको एनडीए (नेशनल डेमोक्रेटिक एलायन्स) ले ३५० स्थान हासिल गर्यो। यसमा ३०३ स्थान भाजपाको हो भने अन्य ४७ स्थान उसका सहयोगी दलको हो। ५४२ मध्ये भारतीय जनता पार्टीले ३७० स्थानमा चुनाव लडेको थियो भने बाँकी गठबन्धनका सहयोगी दललाई छोडेको थियो। ३७० मध्ये ३०३ स्थानमा भाजपाले आफ्ना उम्मेद्वार विजयी बनायो। 

कांग्रेसले धेरै क्षेत्री पार्टीहरूका साथ आफ्नो नेतृत्वमा युपीए (युनाइटेड पिपुल्स एलायन्स) ८५ मा सिमित भयो भने उत्तर प्रदेशका दुई बाहुबली दल समाजवादी पार्टी  र बहुजन समाजवादी पार्टीको महागठबन्धनले कुनै चमत्कार देखाउन सकेन। उत्तर प्रदेशमा भारतीय जनता पार्टीलाई रोक्नका लागि बनाएको यो गठबन्धनले त्यहाँ ८० स्थानमध्ये १५ स्थानमा चित्त बुझाउनु पर्यो। 

यसपटकको लोकसभा चुनावमा भारतमा अनेकौ उतारचढाव देखियो, पुराना कीर्तिमानहरू भंग हुदै नयाँ कीर्तिमान बने। ठुला ठुला नेताहरू अप्रत्यासित रूपमा नराम्ररी चुनाव हारे भने कयौ स्थानमा नयाँ अनुहारहरू देखिए।

सबैभन्दा ठुलो कीर्तिमान नरेन्द्र मोदीले बनाए। उनले आफ्नोे ब्राण्डमा सुनामी नै ल्याएर लगातार दोस्रोपटक प्रचण्ड बहुमतका साथ प्रधानमन्त्री हुने बाटो तय गरे। यस्तो बाटो तय गर्ने जवाहरलाल नेहरू र इन्दिरा गान्धिपछि उनी नै भए। कुनैबेला सास भी कभी बहु थी की तुलसी बनेर घरघरका टेलिभिजन सेटमा आउने स्मृति इरानी यो चुनावकी सबभन्दा ठुलो विजेता जायन्ट किलर बनिन्। उनले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई गान्धी परिवारको परम्परागत गढ अमेठीबाटै पराजित गरिन्। भलै राहुल गान्धी केरलको अर्को सुरक्षित निर्वाचन क्षेत्रबाट लोकसभामा पुग्न सफल भए।

यो चुनावमा राहुल गान्धीजस्तै ठुलो पराजय पूर्वप्रधानमन्त्री देवेगौडाले भोग्नु पर्यो। नातिका लागि आफ्नो सुरक्षित क्षेत्र छोडेर नयाँ क्षेत्रमा गएका उनी नराम्ररी पराजित भए। उनी एकै क्षेत्रबाट मात्र उम्मेद्वार भएकाले उनका लागि लोकसभा पुग्ने बाटो  पनि खुलेन। 

कुनेबेला ३४ वर्ष शासन गरेको भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीले आफ्नो गढ पश्चिम बंगलामा जितको खाता पनि खोल्न सकेन। आन्ध्र र केरलबाट तीन स्थान जितेर लोकसभामा कम्युनिष्टको बीउ भने जोगाउन सक्यो। कम्युनिष्टको गढ मानिने विहारको बेगुसरायमा उठेका जेएनयुका लोकप्रिय विद्यार्थी नेता कन्हैयाकुमारले पनि कम्युनिष्ट पार्टीका लागि जितको खाता खोल्न सकेनन्। यो चुनावका स्टार मानिएका उनी पोष्टर ब्यायमै सिमीत भए।

कांग्रेसका ठूला नेताहरूको लागि त यो चुनाव महामारी नै बनेर आयो।कयौपटक केन्द्रीय मन्त्री भएका वरिष्ठ नेताहरू त हारे नै आठजना पूर्वमुख्यमन्त्री पनि पराजित भए। सिन्धिया परिवारको गढ मानिने राजस्थानको गुनाबाट ज्योतिरादित्य सिन्धिया पनि चिप्लिए। 

कुनै बेला बिहारी राजनीतिको प्रतीक बनेका लालु यादवको परिवार र पार्टीका लागि पहिलोपटक दिल्ली पूरै टाढा भयो। उनको राष्ट्रिय जनता पार्टीले एक सिट पनि जित्न सकेन। 

सिक्किममा २५ वर्षदेखि शासन गरिरहेका पवन चाम्लिङको सत्ता पनि चिप्लियो।३२ स्थान भएको विधानसभामा उनको दलले १५ स्थान मात्र जित्यो । सिक्किमको एक मात्र लोकसभा सदस्यको स्थानमा पनि उनको पार्टीका उम्मेद्वार विजयी हुन सकेनन्। चाम्लिङ आफैं भने दुबै स्थानबाट झिनो मतान्तरले विजयी भएका छन्। 

लामो समयदेखि राजनीतिमा रहेका बलिउड स्टारहरू शत्रुघन सिन्हा, राज बब्बर र जया प्रदा पनि यो चुनावमा विजयी हुन सकेनन्। जीवनभर भाजपाको राजनीति गरेर कांग्रेस पसेका शत्रुघन र समाजवादी भएर राजनीति गरेर यसपटक भाजपा भएकी जया प्रदा पराजित भए। कांग्रेसका राज बब्बरको पनि केही सिप लागेन। कांग्रेसबाटै प्रत्यासी रहेकी रंगिला गर्ल उर्मिला मार्तोडकरका लागि पहिलो गाँसमै झिंगा भयो। अर्की बलिउड स्टार मुनमुन सेन पनि पराजित भइन्। 

यसपटक बलिउडबाट हेमा मालिनी र सन्नी देवल संसदमा पुगेका छन्। हेमाका लागि यो दोस्रो विजय थियो भने सन्नीले पहिलो चुनावमै विजय हासिल गरे। भोजपुरी सिनेमा नायक मनोज तिवारी दोस्रोपटक र रवि किशन पहिलोपटक सांसद भए। मोदी सरकारमा मन्त्री रहेका बाबुल सुप्रियो पुन: विजयी भए भने दिल्लीबाट गायक हंशराज हंश पनि पहिलोपटक सांसद विजयी भए।

भारतीय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान गौतम गम्भीरले राजनीतिको ओपनिङ पनि शानदार किसिले गरे।भारतीय जनता पार्टीका उम्मेद्वार उनी दिल्लीबाट विजयी भएर लोकसभा पुगे।

नेपालीमूलका तीनजना उम्मेद्वार पनि यसपटक लोकसभा पुगेका छन्। तेहरी गढवाल क्षेत्रबाट माला राज्यलक्ष्मी शाह तेस्रोपटक विजयी भएर लोकसभा पुगिन् भने दार्जिलिङले पनि राजु सिंह विष्टका रूपमा गफर्दा सांसद पायो। उनीहरू दुबै भाजपाबाट विजयी भएका हुन्। उता, सिक्किममा नवगठित स सिक्किम क्रान्तिकारी मार्चाका इन्द्रहाङ सुब्बा पनि ३० वर्षको कलिलो उमेरमै लोकसभा सदस्य भएका छन्। 

 

प्रकाशित मिति: : 2019-05-25 05:41:05

प्रतिकृया दिनुहोस्