भारतको लोकसभामा तीनजना नेपालीमूलका सांसद

भारतमा कान्छा मात्र हैन, माननीय पनि छन् नेपाली । तस्बिर: फाइल /बीएल ग्राफिक्स

भारतको लोकसभामा पहिलोपटक एकसाथ तीन नेपालीभाषी 'गोर्खा सांसद' पुगेका छन्। उनीहरू भारतीय जनता पार्टीका राजु विष्ट र माला राज्यलक्ष्मी शाह तथा सिक्किम क्रान्तिकारी मोर्चाका इन्द्रहाङ सुब्बा हुन्। 

विष्ट नेपालीभाषी बहुल क्षेत्र पश्चिम बंगालको दार्जिलिङ र सुब्बा सिक्किमबाट निर्वाचित भएका हुन् भने शाह उत्तराखण्डको तेहरी गढवाला निर्वाचन क्षेत्रमा विजयी भएकी हुन्।यस क्षेत्रमा नेपालीभाषी बहुल देहरादुन पनि पर्छ।

माला राज्यलक्ष्मी शाह



माला राज्यलक्ष्मी शाह  सन् २०१२ मा भएको लोकसभाको उपनिर्वाचन जितेर पहिलोपटक लोकसभामा पुगेकी थिइन्। त्यसपछि उनले  सन् २०१४ को निर्वाचन पनि जितिन्। उनले जितको ह्याट्रिक लगाउँने क्रममा यसपटक कांग्रेसका प्रितम सिंहलाई तीन लाख पाँचसय ८६ मतान्तरले पराजित गरेकी हुन्। शाहले पाँचलाख ६५ हजार तीनसय ३३ मत प्राप्त गरिन् भने सिंहले दुई लाख ६४ हजार सातसय ४७ मत प्राप्त गरे। 
यस निर्वाचन क्षेत्रमा नेपालीको बाक्लो उपस्थिति रहेको देहरादुनका अतिरिक्त उत्तर काशी र तेहरी जिल्ला पर्छन्।

शाहका ससुरा मानवेन्द्र शाह सन् २००७ मा निधन हुनुअघि त्यस क्षेत्रबाट ८ पटक सांसद भएका थिए। उनको विरासतलाई जोगाउन राजनीतिमा होमिएकी मालाले त्यहाँका लोकप्रिय मुख्यमन्त्री विजय बहुगुणाका छोरा संकेत बहुगुणालाई पराजित गरेर राजनीति सुरू गरेकी थिइन्।

उनको जन्म काठमाडौंमा राणा परिवारमा भएको हो। उनी अर्जुन शम्शेर जंगबहादुर राणाकी छोरी हुन्। उनको शिक्षा काठमाडोैंको रत्नराज्य क्याम्पसमा भएको थियो। उनी तेहरी गढवालको राजपरिवारमा विवाह भएर भारतीय बुहारी भएकी थिइन्। 

राजु सिंह विष्ट


पहाडकी रानी दार्जिलिङ निर्वाचन क्षेत्रबाट राजु सिंह विष्टले पहिलो पटक चुनाव जितेका हुन्। उनले अर्का भेट्रन गोर्खे राजनीतिज्ञ अमरसिंह राईलाई चार लाख १३ हजार चारसय ४३ को मतान्तरले जिते। विष्टले सात लाख ५० हजार ६७ मत ल्याए भने राईले तीनलाख ३६ हजार छसय २४ मत मात्र ल्याए।राई पश्चिम बंगालको सत्ताधारी पार्टी त्रिणमुल कांग्रेसबाट उम्मेद्वार भएका थिए। ३३६६२४  ७५००६७ 

विष्टको घर भारतको पूर्वाेत्तर राज्य मणिपुर हो।३३ वर्षिय विष्ट राजधानी दिल्लीमा व्यवसाय गर्दै आएका छन्।उनी सूर्य रोशनीका कार्यकारी निर्देशक हुन्। उनको वार्षिक ५० अर्ब भारतीय रुपैयाँको व्यापार गर्छ।

विष्ट राष्ट्रिय स्वयम सेवक संघमा सक्रिय रहदै आएका छन्। 

इन्द्रहाङ सुब्बा 

३० वर्षीय इन्द्रहाङ सुब्बा सिक्किमका चर्चित युवा राजनीतिज्ञ हुन्। भारतीय चर्चित फुटबलर भाइचुङ भुटियाले स्थापना गरेको हाम्रो सिक्किम पार्टीका संस्थापक तथा पश्चिम जिल्ला कमिटीका अध्यक्ष थिए सुब्बा।उनी आफू संस्थापक रहेको पार्टी नै परित्याग गरी चुनावको मुखमै सिक्किम क्रान्तिकारी मोर्चामा आवद्ध भएका थिए। यो पार्टी सिक्किममा विगत २५ वर्षदेखि शाससन गर्दै आएको पवन चाम्लिङको सिक्किम डेमोक्र्याटिक फ्रन्टबाट बिद्रोह गरी बाहिरिएकाले स्थापना गरेको पार्टी हो। यसका नेता पीएस गोले हुन्।

यही पार्टीका तर्फबाट उम्मेद्वारी दिएका सुब्बाले सिक्किम डेमोक्र्याटिक फ्रन्टका देकबहादुर कटवाललाई १२ हजार चारसय ३३ मतान्तरले पराजित गरे। लिम्बूले एकलाख ६६ हजार नौसय २२ मत प्राप्त गरे भने कटुवालले एकलाख ५४ हजार चासय उनानब्बे मत पाए। 

आफूलाई सामाजिक कार्यकर्ता भन्न रूचाउँने सुब्बाले सिक्किम विश्वविद्यालयबाट सन् २०१४ मा भौतिक शास्त्रमा एमएस्सी गरेका छन्।

 

प्रकाशित मिति: : 2019-05-25 03:46:48

प्रतिकृया दिनुहोस्