ढल्यो गान्धी–नेहरु परिवारको गढ

Agency

भारतका पहिलो प्रधानमन्त्री जवहारलाल नेहरुदेखि लगातार चुनाव जित्दै आएको उत्तर प्रदेशको अमेठी लोकसभा सिटमा पहिलो पल्ट भारतीय कंग्रेस पराजित भएको छ। 

अमेठीबाट निर्वाचन जितेका नेहरुले भारतको लामो प्रधानमन्त्री बन्ने इतिहास रचेका थिए।

उनको निधनपछि यही क्षेत्रबाट चुनाव जितेर छोरी इन्दिरा गान्धी भारतको पहिलो महिला प्रधानमन्त्री चुनिएकी थिइन्।

इन्दिरा गान्धीको हत्यापछि उनका छोरा राजीव गान्धी पनि यही क्षेत्रबाट निर्वाचन जितेर देशको युवा प्रधानमन्त्री बन्न सफल भएका थिए।

गान्धी–नेहरु परिवारको उत्तराधिकारीको रुपमा भारतीय कंग्रेसको नेतृत्व गरिरहेका राहुल गान्धी यसपालिको लोकसभा निर्वाचनमा पूर्व टेलिभिजन अभिनेत्री स्मृती इरानीसँग पराजित भएका छन्।

सन् २०१९ को लोकसभा निर्वाचनमा कंग्रेस पार्टीका अध्यक्ष राहुललाई उनले ५५ हजार बढी मतले पराजित गरिन्।

सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) की इरानीको जितसँगै करिब ७० वर्षदेखि गान्धी–नेहरु परिवारको गढको रुपमा रहेको अमेठी निर्वाचन क्षेत्र कंग्रेसको हातबाट फुस्किएको छ।

राहुल पनि १५ वर्षदेखि यस क्षेत्रको सांसद थिए।

उनले २०१४ को निर्वाचनमा इरानीलाई १ लाख बढी मतले पराजित गरेका थिए।

राहुलले केरला राज्यको वाइनाड क्षेत्रबाट चुनाव जितेका छन्। उनी यसपालि दुईवटा चुनावी क्षेत्रबाट उठेका थिए।

प्रकाशित मिति: : 2019-05-24 11:41:57

प्रतिकृया दिनुहोस्