भ्रष्टाचार यसरी निर्मुल पार्छौ कि नयाँ संसदमा यसबारे छलफल नै नहुने अवस्था आउँछ: प्रधानमन्त्री ओली (भिडियो सहित)

प्रधानमन्त्री केपी ओली ।

प्रधानमन्त्री केपी ओलीले उग्र दक्षिणपन्थी र उग्र क्रान्तिकारीकारीको नाममा गतिविधि गर्नेहरुलाई नछाड्ने बताएका छन् ।

बुधबार सिंहदरवारस्थित संघीय संसद भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारले त्यस्ता गतिविधिलाई नियालिराखेको भन्दै लोकतन्त्रमाथि खतरा उत्पन्न भए सरकारले नछाड्ने बताए ।

‘सरकारले त्यस्ता गतिविधिलाई नियालिराखेको छ । जबसम्म डम्मरुमाथि आक्रमण हुँदैन, तवसम्म बघिनी चुप लागेर बस्छे, आक्रमण भएको थाहा पाएपछि बघिनी जाइलाग्छे,’ प्रधानमन्त्रीले भने, ‘लोकतन्त्रमाथि खतरा उत्पन्न भए सरकारले छाड्दैन, चुप लागेर बस्दैन ।’

त्यस्तै भ्रष्टाचारका विषयमा बोल्दै प्रधानमन्त्रीले भ्रष्टाचारीहरुलाई सरकारले कुनै हालतमा माफि नदिने प्रतिबद्धता दोहोर्याए । ‘नयाँ संसद भवनबनेसँगै भ्रष्टाचार यसरी निर्मुल पार्छौ कि नयाँ संसदमा भ्रष्टारचार बारे छलफल नै नहुने अवस्था आओस्,’ प्रधानमन्त्रीको भनाई थियो ।

‘अब भ्रष्टचारीहरु पनि आनन्दले नबसे हुन्छ । सबैको रेकर्ड राखिएको छ । भिडियो क्लिप सरकारसँग आइसकेको छ । जो भ्रष्टाचारी छन् उनीहरु शान्तिसँग बस्न पाउँदैनन्’ प्रधानमन्त्रीले चेतावनी दिए । निर्धारित समायमा संघीय संसदको भवन निर्माण सम्पन्न गर्न निर्देशन दिदै प्रधानमन्त्रीले वर्तमान सांसदहरुले नै नयाँ संसद भवनमा बस्न पाउने गरी निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । उनले मुलुकमा धेरै परिवर्तन भइसकेपनि नयाँ संसद भवन निर्माण नगर्दा भाडामा बस्नुपरेको भन्दै अब त्यो अवस्थाको अन्त्य हुने दावी गरे ।

सात अर्ब ७३ करोडमा सिंहदरवारस्थित पुतली बगैँचामा निर्माण हुने संघीय संसद भवन तीन वर्ष बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति: : 2019-09-18 13:31:34

प्रतिकृया दिनुहोस्