बोरूसिया पेनाल्टीमा चुक्दा मेसी सम्मिलित बार्सिलोना हारबाट जोगियो

तस्बिरः एजेन्सी

लिओनेल मेसी सम्मिलित बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमा जर्मन क्लब बोरूसिया डर्टमण्डसँग गोलरहित बराबरीमा रोकिएको छ।

मंगलबार राति भएको समूह एफको खेलमा बार्सिलोनाले डर्टमण्डसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो।

बोरूसिया डर्टमुन्डका कप्तान मार्को रिउसको पेनाल्टी प्रहार गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाएपछि बार्सिलोना च्याम्पियन्स लिगको पहिलो खेलमा हारबाट जोगिएको हो।

खेलको अवधिभर दबाबमा राखेको डर्टमुन्डले निकै अवसर सिर्जना गरे पनि बार्सिलोनाका जर्मन गोलरक्षक स्टेगनले उत्कृष्ट बचाउ गरे।

थ्रोगन हाजार्डको उत्कृष्ट पासमा कप्तान रिउसको प्रहार स्टेगनले बचाउँदै पहिलो हाफमा पनि टोलीलाई गोल खानबाट बचाएका थिए।

दोस्रो हाफको ५७ औं मिनेटमा बोरुसियाले पेनाल्टीको अवसर पाएको थियो। बार्सिलोनाका नेल्सन सेमेडोले इंग्लिस विंगर जेडन सान्चोलाई लडाएपछि रेफ्रीले पेनाल्टीको मौका दिएका थिए। तर, रिउसको प्रहार स्टेगनले उत्कृष्ट बचाउ गरेका थिए।

घरेलु समर्थकमाझ निकै राम्रो प्रदर्शन गरेको बोरुसियाले थप अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा बराबरीमै चित्त बुझायो।

खेलमा बार्सिलोनाका लागि १६ वर्षीय अन्सु फातीलाई सुरूवातमै मौका दिइएको थियो। उनी १६ वर्ष ३ सय २१ दिनको उमेरमा मैदान उत्रँदै च्याम्पियन्स लिग खेल्ने बार्सिलोनाका सबैभन्दा कान्छा खेलाडीसमेत बने।

यसअघि बोजानले १७ वर्ष २२ दिनको उमेरमा खेलेका थिए । च्याम्पियन्स लिग इतिहासमै भने उनी तेस्रा कान्छा हुन्।

फातीको स्थानमा दोस्रो हाफमा लिओनेल मेसी मैदान प्रवेश गरे। चोटका कारण विश्राममा रहेका मेसीले सिजनको पहिलो खेल खेल्ने क्रममा त्यति सोचे अनुसार खेल्न सकेनन्।

बार्सिलोनाले सन् २००९-१० पछि पहिलो पटक च्याम्पियन्स लिगको पहिलो खेलमा गोल गर्न सकेन। बार्सिलोनाले त्यसबेला इन्टर मिलानविरुद्ध गोल गर्न सकेको थिएन। त्यस सिजन इन्टर नै उपाधि जित्न सफल रहेको थियो। यद्यपि यस नतिजासँगै समूह चरणमा बार्सिलोना पछिल्लो १४ खेलमा जर्मन टोलीविरुद्ध अपराजित नतिजा कायम गर्न सफल रहेको छ।

यस क्रममा टोलीले ११ जित र ३ बराबरीको नतिजा दर्ता गरेको छ ।

समूहको अर्को खेलमा इन्टर मिलान र स्लाभिया प्राह १-१ को बराबरीमा रोकिए।

समूहमा सबै टोलीको समान १-१ अंक छ र गोल गरेको आधारमा प्राहा र इन्टर शीर्ष दुईमा छन्।

प्रकाशित मिति: : 2019-09-18 07:42:38

प्रतिकृया दिनुहोस्