अहिले देशभर डेङ्गुको सन्त्रास छ । पोथी लामखुट्टेले टोकेर हुने डेङ्गु नियन्त्रणका लागि सरकारले आफ्ना सबै निकायलाई सक्रिय बनाएको छ । काठमाडौँ उपत्यकासहित तराई र पहाडका जिल्लामा समेत फैलिएको डेङ्गु नियन्त्रण र रोग लागेपछि त्यसको उपचार विधिका बारेमा केन्द्रित भएर छलफल गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लाल, वरिष्ठ जनस्वास्थ्यविद् प्रा.डा. शरद वन्त र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सलटेन्ट तथा प्रवक्ता डा. अनुप बाँस्तोलालाई गोरखापत्र संवादमा निम्त्याएका छौँ । प्रस्तुत छ– उहाँहरूसँग गरिएको संवादको सम्पादित अंश–
डेङ्गु रोगबारे अहिले समाजमा निकै त्रास छ, खासमा के हो डेङ्गु ? अहिलेको अवस्था कस्तो छ ?
डा. बाँस्तोला : सन् २००४ मा देखिएको डेङ्गु नेपालमा २००६ मा प्रमाणित भयो । काठमाडौँ, पोखरा, पहाडका बासिन्दाले यसलाई तराईको रोगका रूपमा मात्र चिन्थे । अघिल्लो वर्ष यो रोग काठमाडौँमा प्रवेश ग¥यो । यो वर्ष प्रकोपका रूपमा काठमाडौँ, पोखरा, धरानमा देखियो । काठमाडौँ नै जोखिममा परेपछि केन्द्रमा यसको बहस सुरु भयो । अहिले काठमाडौँमा बिरामीको सङ्ख्या बढेको छ । पहिला लामखुट्टे सङ्क्रमित थिएन तर अहिले छ । काठमाडौँमा विभिन्न क्षेत्रबाट मान्छे आउँछन् र सङ्क्रमित भएर जान्छन् ।