केही महीनाअघि संसदमा गरेको सम्बोधनमा प्रधानमन्त्री केपी ओलीले उखान टुक्कासँगै केही यस्ता तथ्याङ्क पनि प्रयोग गरे जसको धेरैले ख्याल गरे। ओलीले आफ्नो कार्यकालमा कति किमी सडक कालोपत्रे भयो, कति वटा पुल बने भन्ने तथ्याङ्क प्रस्तुत गरेका थिए । आफ्नो सरकारको उपलब्धिबारे तथ्याङ्कबाट जानकारी दिंदा त्यो उखान टुक्काभन्दा प्रभावकारी बन्यो ।
तथ्याङ्क शिक्षाका अभियन्ता जोर्डन मोरो भन्छन्, “यो मानव सभ्यताको लागि नयाँ इन्धन हो, तर जसरी कच्चा इन्धन प्रयोग गर्नुभन्दा पहिले प्रशोधन गर्नुपर्छ, त्यसरी नै तथ्याङ्कलाई पनि प्रशोधन गरेर प्रयोगको लागि तयार गर्नुपर्छ ।” कुनै पनि निर्णय लिन सूचना र अख्तियारी चाहिन्छ । अख्तियारी भएर पनि सूचना छैन भने गलत निर्णय गर्ने सम्भावना रहन्छ । नेपालमा गलत मनसायले भन्दा अपर्याप्त सूचनाले अनुचित निर्णय भइरहेको पाउँछौं ।
अनुभव, जानकारी, अभ्यास र विश्लेषण पनि सूचनाको एक अङ्ग हो । तर, हामीले ती सूचना सार्वजनिक प्रयोगको लागि उपलब्ध गराए मात्र खुला तथ्याङ्क (ओपन डाटा) हुन्छ । खुला तथ्याङ्कलाई सार्वजनिक प्रयोग गर्न सकिन्छ । तथ्याङ्कको प्रयोगले अभिव्यक्ति विश्वसनीय हुन्छ ।