अहिले पनि जनमत संग्रह भए हिन्दु राष्ट्रको पक्षमा ८० प्रतिशत मतः मेयर धवल शमशेर

तस्बिरः बिएल

धवल शमशेर राणा, नेपालगञ्ज उप–महानगरपालिकाका मेयर। लोकप्रिय नेता। कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातान्त्रिक पार्टीले दुई वर्ष अगाडि भएको स्थानीय निर्वाचनमा ठूलो क्षति बेहोर्यो। तर, धवल शमशेरले मेयर पदको निर्वाचन अधिक मतले जित्दै आफ्नो पार्टीको शाखलाई मर्न दिएनन्।

प्रदेश ५ का प्रभावशाली यी नेता राप्रपा (नेपाल) का महामन्त्री पनि हुन्। उनीसँग स्थानीय समस्या र उनको राजनीतिक आदर्शलाई लिएर ब्रेकिनलिंक्सले गरेको छोटो कुराकानी।

तपाई यहाँको लोकप्रिय मेयर, के गर्दै हुनुहुन्छ यतिबेला?

– म २०५४ सालमा मेयर भइसकेको व्यक्ति हो। बीचको १२ वर्ष द्धन्द्धमा समय वित्यो। सबै स्थानीय निकाय अस्तब्यस्त भयो। मलाई बीचमा अवसर पनि आएको थियो, माननीय बन्ने। तर, मैले स्थानीय निकायमै बसेर काम गर्ने कुरालाई प्राथमिकता दिए।  

पहिलो पल्ट मेयर बन्दा थुप्रै राम्रो कामको थालनी भएको थियो। बीचको १२–१५ वर्ष देशभरी जुन अराजकताको स्थिति बन्यो, त्यसको हावा नेपालगञ्जमा पनि प्रवेश गर्यो। भ्रष्टाचार मौलायो।

म दोस्रो पल्ट मेयर नियुक्त भएपछि जनतामा फेरि आशा पलाएको छ। यो दुई वर्षभित्र सबै बाटो दुरुस्त भएको छ। नेपालगञ्जवासीको पूर्वाधार निमार्ण र स्वच्छ शहर बनोस् भन्ने जुन कामना छ, त्यसलाई पुरा गर्न हामी कट्टिबद्ध भएर लागेका छौं।

चुनाव जित्नुअघि थुप्रै काम पाइपलाइनमा थिए। एसियन डेभलोप्मेन्ट बैंक (एडिबी) को ल्यान्डफिल्ड साइटदेखि बसपार्क निमार्णसम्मको ७ वटा प्रोजेक्टको काम अगाडि बढ्न सकेको थिएन। अहिले धमाधम काम भइरहेको छ।

नेपालमा योजना राम्रो बन्छ तर कार्यन्वयन हुँदैन। समस्या कहाँ देख्नु भएको छ?

– लोभ। नेपालको समस्या– योजना बन्छ तर कार्यान्वयन हुँदैन। यसको मुख्य कारण हो, योजना कार्यान्वयन गराउने मान्छे नै लोभमा फस्छन्। मेलम्ची किन नबनेको? यही त हो नि। पैसा नभएर नबनेको होइन नि। योजना बनेपछि पैसा त आउँछ। तर, किन बन्दै न त?

हामीले ठेकेदारहरुलाई बोलाएर कसैलाई पैसा खुवाउने काम छैन भनेका छौं। हाम्रो एउटै सर्त छ, काम गुणस्तरीय हुनु पर्यो। त्यसैले काम धमाधम भइरहेको छ। यति हुँदा पनि एक–दुई जनाले दुःख दिन खोजेका छन्।

स्थानीय निकायलाई अधिकार प्रत्यायोजन गर्ने सवालमा केन्द्र सरकारको रवैया कस्तो देख्नु हुन्छ?

– यसलाई मैले ऐतिहासिक द्धन्द्धको रुपमा हेरेको छुँ। केन्द्रले जहिले पनि अधिकार आफ्नो कब्जामा राख्न खोज्छ। दुई वर्षको अन्तरालमा मैले आफ्नो हाकिम नै ४ वटा पाइसके। आर्थिक कुरा सबै उसले हेर्छ। ऊ विश्वस्त नभई चेक काट्दैन। उसलाई स्थानीय निकायको स्वरुप बुझ्न नै समय लाग्छ। ६–६ महिनामा हाकिम बदली हुन्छ। उसलाई वस्तुस्थिति बुझन नै ६ महिना लाग्छ। यो सबै मन्त्रालयको खेल हो।

प्रदेश सरकार र स्थानीयबीच अधिकारको विषयलाई लिएर पनि विवाद छ नि? मूल समस्या के देख्नु भा’छ?

– हामीबीच कुनै लडाई छैन। प्रदेश त बेचारा आफै सिक्दैछ। उसको आफ्नै नियम कानुन केही छैन। उहाँहरुले विकाश निमार्णको केही काम गर्नु हुन्छ भने हाम्रो सहयोग रहन्छ भनेको छु मैले।

तपाईको कार्यकालमा नेपालगञ्जको अनुहार फेरिन्छ भन्ने कुरामा यहाँका स्थानीय वासिन्दा कतिको विश्वस्त छन्?

– फेरिसक्यो। तपाईले जनतालाई सोध्नुस न। सबै बाटोघाटो बनिसक्यो। पार्कहरु बन्दैछन्। बसपार्क नयाँ बन्दै छ। फोहोर मैला व्यवस्थापन हुँदैछ। यहाँका स्थानीयवासीको पहिलो प्राथमिकता बाटो र नाला व्यवस्थापन थियो। दुई वर्षमा हामी त्यता केन्द्रित थियौं। अब हामी सुशासनतर्फ केन्द्रित छौं। दुईवटा ठूलो वाटर पार्क बन्दैछ। शहरी विकाश मन्त्री पनि यहीको पर्नुभयो। त्यसैले हामीलाई काम गर्न पनि सहज भएको छ। बडामा समेत बाटो बनाउने कामले तिब्रता पाएको छ। हामीसँग यति धेरै पैसा र योजना छ। तर, आर्थिक नियमावलीको झन्झटले गर्दा काम कताबाट सुरु गरौं भन्ने समस्या मात्र हो।

तपाई पार्टीको जिम्मेवार नेता। केन्द्रमा हिन्दु राष्ट्रको नारा लगाइरहेका छन्, स्थानीय जनमत कस्तो देख्नु भएको छ?

– वास्तविक कुरा गर्नु पर्दा आज जनमत संग्रह भयो भने ८० प्रतिशत जनता हिन्दु राष्ट्रको पक्षमा उभिन्छन्। तर, चुनाव पार्टीगत हुन्छ। नेपाली जनता पुरै पार्टीकरण भइसकेका छन्। यसकारण मान्छेले भोट हाल्न सकिरहेका छैनन्।

पार्टी एकीकरणको मुद्धा कहाँ पुग्यो?

– हाम्रो दुर्भाग्य। एजेन्डा एकदमै राम्रो छ। बलियो पनि छ। ९० प्रतिशत जनता हिन्दु भएको ठाउँमा रातारात हटाइयो। मुस्लीम देशमा यस्तो भएको भए, के हुन्थ्यो? रातारात आगो लाग्थ्यो। सबैको मनमा पीडा छ। सबै चाहन्छन, हाम्रो अस्तित्व पुनः स्थापित होस्। तर, कायम गराउने मान्छेलाई पत्याएका छैनन्। मैले लिडरहरुलाई आरोप लगाउन खोजेको होइन। हाम्रो पार्टीको क्रियाकलापलाई पत्याउन खोजिएको थियो। तर, बीचमा हाम्रो भूमिका ठिक भएन।  

 

प्रकाशित मिति: : 2019-04-24 17:43:42

प्रतिकृया दिनुहोस्