शान्तिवार्ताप्रति अमेरिका उत्तर कोरिया प्रतिबद्ध रहेको दक्षिण कोरियाली राष्ट्रपतिको भनाइ

तस्बिरः डेली एक्सप्रेस

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले केही समययतादेखि जारी रहेको शान्तिवार्ताप्रति अमेरिका र उत्तर कोरिया दुवै प्रतिबद्ध रहेका बताएका छन्।

राजधानी सोलमा आफ्ना केही निकटस्थ व्यक्तिहरुको बैठकलाई सम्बोधन गर्दै उनले शान्तिवार्ता तथा उत्तर कोरियाको निशस्त्रीकरणको विषयप्रति अमेरिका र उत्तर कोरियाले आफ्नो प्रतिबद्धता देखाएको बताएका छन्। 

उनले यस विषयमा दक्षिण कोरिया, उत्तर कोरिया र अमेरिकाको प्रतिबद्धता एकसाथ रहेको र यी देश अब शान्ति प्रक्रिया र निशस्त्रीकरणबाहेकको अर्काे कुनै एजेण्डामा पछि फर्किन नसक्ने पनि बताए।

अमेरिका र उत्तर कोरियाबीचको दोस्रो चरणको वार्ताका क्रममा केही सामान्य कठिनाइका कारण कुनै सम्झौता हुन नसकेको भए पनि आगामी दिनमा वार्ताले निरन्तरता पाउने छ र यी विषयमा एकसाथ अघि बढ्ने छौँ, उनले भने। 

तर सो दोस्रो चरणको अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको बैठकमा पनि शान्ति प्रक्रियालाई निरन्तरता दिने र कोरियाली प्रायद्वीपमा विगतमा जस्तो अशान्तको अवस्था हुन नदिने बारेमा भने सहमति भएको उनले बताए।

मुनको यो भनाई उनी यही अप्रिल ११ मा अमेरिका जानुअघि आएको छ । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न त्यसतर्फ जाँदैछन्।



प्रकाशित मिति: : 2019-04-04 20:08:13

प्रतिकृया दिनुहोस्