प्रचण्डको अमेरिका भ्रमण: पशुपतिको यात्रा, सिद्राको ब्यापार'

तस्वीर: रासस

पत्नीको स्वास्थ्योपचार लागि अमेरिका आएका प्रचण्डका लागि यो भ्रमण 'पशुपतिको यात्रा: सिद्राको ब्यापार' भनेजस्तै भएको छ। उनले एकसाता अमेरिका बस्दा पत्नीको उपचार मात्र गराएनन्, केही उच्चपदस्थ अमेरिकी अधिकारीहरूसँग  भेट गरेर अमेरिकाको गुडबुकमा आफ्नो नाम लेखाउन पनि सफल भए। 

गत सोमबार अमेरिकी राजधानी वासिङ्टन डीसीमा बास बसेर अमेरिका भ्रमण सुरू गरेका प्रचण्ड अमेरिका छोड्ने अघिल्लो रात न्युयोर्कमा बास बस्न पुगेका छन्। 

सोमबार विहानै वासिङ्टन डी सी छोडेका उनी मेरिल्याण्डको एनापोलिस हुँदै सडकमार्ग न्युयोर्क पुगेका हुन् । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की र प्रचण्ड परिवारका सदस्यहरू पत्नी सीता, छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि सँगै न्ययोर्क पुगेका छन्। 

उनीहरू न्युयोर्कमा कहाँ बसेका छन् र कतिबजे कुन विमानबाट नेपाल फर्कदैछन् भने जस्ता सूचनाहरू गोप्य राखिएका छन् ।

गत सोमबार अमेरिका आइपुगेका उनी ठीक एकसाता बसेर नेपाल उड्दैछन् । उनको अमेरिका बसाइ वासिङ्टन डीसीबाट सुरू भएर न्युयोर्कमा सकिदैछ। 

प्रचण्डको यो भ्रमण व्यक्तिगत भनिए पनि यसको पूरै संयोजन सरकारी संयन्त्रबाट गरिएको थियो। उनले भ्रमणका क्रममा अमेरिकाको विदेश मन्त्रालयमा दक्षिण तथा मध्यअमेरिका हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री एलिस जी वेल्सलाई भेटेका थिए। 

अमेरिकामा रहेका एक नेपालीले उनलाई पक्राउ गर्नका लागि एफबीआईमा इमेल निवेदन पठाएपछि उनको भ्रमणले केही विवादित हुदै थप महत्व पायो। अमेरिकामा रहेका खासगरी नेपाली कांग्रेस र पूर्वराजाका समर्थकहरूले उनको विरोधमा सामाजिक सञ्जालमा युद्ध नै छेडेका थिए। प्रचण्ड समर्थितले त्यसको ठाडो प्रतिवाद गरेका थिए भने इस्युबेस्ड नेपालीले भने विरोध र समर्थन दुबै असान्दर्भिक भएको टिप्पणी गरेका थिए। 

यो भ्रमणलाई लुकाउन सिंगो वारिसङ्टन डिसीस्थित दूताबास नै लाग्यो। राजदूत डा. कार्कीले नै त्यसको कमाण्ड लिए। नेपालमा के पी ओलीको शक्तिशाली सरकार भएको बेला नियोगमा रहेका कर्मचारीहरूले पनि मुखमा दही जमाउनु नै ठीक ठाने।

प्रकाशित मिति: : 2019-03-26 09:16:24

प्रतिकृया दिनुहोस्