भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि बन्द गरियो रेलसेवा

एएफपी

उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती सहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

उनी सोमबार भियतनामको सीमावर्ती सहर दोङदाङ पुग्दै छन्।

उनको सुरक्षार्थ सर्वसाधारणका लागि यहाँका केही निश्चित क्षेत्रहरूमा रेल सेवा बन्द गरिएको छ।

किम आउने रेलमार्ग तथा रेल स्टेशनमा विशेष सुरक्षा व्यवस्था गरिएको, ती क्षेत्रलाई सेनाले घेरा हालिरहेको छ। उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि भियतनाम पुग्दैछन्।

उत्तर कोरियाली नेता किम उत्तर कोरियादेखि नै रेलमार्गबाट भियतनाम पुग्दैछन्। दोङदाङबाट किमलाई सडक मार्गबाट करिब १७० किलोमिटर मोटरमा राखेर भियतनामको राजधानी हनोई ल्याइनेछ।

हनोई यात्राका क्रममा उक्त सडकखण्ड पूरै बन्द गरिनेछ।

किम शनिबार नै रेल चढेर भियतनामतर्फ लागेका हुन्। उनी चीनको राजधानी बेइजिङ हुँदै रेलमा भियतनाम पुग्नेछन्। भियतनामका अधिकारीहरूले जनाएअनुसार उनी मङ्गलबार बिहानसम्ममा भियतनामको दोङदाङ सहरमा पुग्नेछन्।

उनले साढे दुई दिनको यात्रा र करिब ४ हजार किलोमिटर यात्रा गरेर भियतनाम पुग्न लागेका हुन्।

उक्त दोङदाङ सहर चीनसँगको सीमा क्षेत्रमा पर्दछ। त्यसैले पछिल्ला केही दिनयता यस क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाइएको अधिकारीहरूले बताएका छन्।

उनी भियतनाम सरकारको विशेष सुरक्षासहितको सवारी साधनमा अपरान्ह २ बजे भियतनामको राजधानी हनोई पुग्ने कार्यक्रम रहेको छ ।

दोङदाङ सहरको रेलसेवा सर्वसाधारण नागरिकको लागि बन्द गरिएको एएफपीका समाचारदाताले जनाएका छन्। उक्त क्षेत्रमा रेल सेवा बन्द गरिएको र ठूलो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको दृश्य आफूले देखेको बताए।

सरकारी अधिकारीहरूले भने यसबारे केही नभनेका र सम्भवत मङ्गलबारसम्म बन्द हुन सक्ने अधिकारीहरूले बताएको उनले जानकारी दिए।

उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पसँगको दोस्रो चरणको उच्चस्तरीय वार्ताका लागि हनोइ जान लागेका हुन्। उनीहरूबीच यो दोस्रो पटक भेटवार्ता हुन लागेको हो।

हनोइमा यही फेब्रुअरी २७ र २८ मा भेटवार्ता हुनेछ।

अमेरिकी राष्ट्रपति ट्रम्प पनि मङ्गलबार नै हनोई पुग्ने कार्यक्रम रहेको छ।

उनीहरूबीचको पहिलो बैठक गत वर्षको जुन १२ मा सिंगापुरमा भएको थियो। सिंगापुरपछिको यो निकै चर्चित भेटवार्ता हो ।

प्रकाशित मिति: : 2019-02-25 23:29:42

प्रतिकृया दिनुहोस्