नेपालमा २४ घण्टाका लागि विदेशी च्यानल बन्द

नेपालमा विदेशी टेलिभिजन च्यानलको घना उपस्थिति एक प्रतिकात्मक तस्बिर । तस्बिर : एजेन्सी

नेपालमा २४ घण्टाका लागि विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल बन्द भएका छन् । सोमबार अपह्रान्ह ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्म विदेशी च्यानल बन्द भएका हुन् । तर, विज्ञापनरहित च्यानलको प्रशारण भने सुचारू हुने बताइएको छ । 

नेपाल केवल टेलिभिजन महासंघ र इन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिले विदेशी च्यानल बन्द गराएका हुन् ।

‘विज्ञापन ऐन, २०७६’ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकले २४ घण्टाका लागि विज्ञापन प्रशारण हुने विदेशी च्यानल बन्द गरेका हुन् ।

नेपालमा प्रसारित विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) अनिवार्य हुने प्रावधानसहित ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफलको क्रममा रहेको छ ।

२०७५ चैत १० गते राष्ट्रिय सभाबाट पारित ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ को दफा ६ (१) मा भनिएको छ– ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापन रहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ ।’

त्यस्तै यही दफाको उपदफा (२) मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा ‘डबिङ’ गरी प्रसारण गर्न नपाइने उल्लेख छ ।

ऐन कार्यान्वयनमा आएपछि विदेशी च्यानलहरुले नेपालमा विज्ञापन रहित प्रसारण (क्लिन फिड) नीति अवलम्बन गर्नुपर्नेछ साथै ‘डबिङ’ विदेशी विज्ञापन पनि नेपाली च्यानलमा प्रसारण हुन पाउने छैनन् ।
 

 

प्रकाशित मिति: : 2019-06-25 07:54:00

प्रतिकृया दिनुहोस्