भारतबाट नौ देश जान नेपाली दूताबासको 'नो अब्जेक्सन लेटर' अनिबार्य

भारत भएर विश्वका विभिन्न नौ मुलुकमा जाने नेपालीले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट नो अब्जेक्सन लेटर लिनुपर्ने भएको छ । 

दिल्लीस्थित नेपाली दूतावासले शुक्रबार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । 

सूचनाअनुसार अब साउदी अरेबिया, कुवेत, ओमान, बहराइन, कतार, कुवेत, यूएी, मलेसिया र लेबनान जान परेमा दिल्लीस्थित नेपाली दूताबासको नो अब्जेक्सन लेटर अनिबार्य रूपमा लिनुपर्ने हुन्छ । तर, दिल्ली ट्रान्जिट मात्र बनाउनेहरूको हकमा भने यो लागु हुदैन । 

राजदूताबासको नो अद्वजेक्सन लेटर नहुनेलाई भारतीय अध्यागमनले प्रवेश गर्न नै दिने छैन । 

भारत हुदै यी मुलुकमा नेपाली कामदारको ठुलो तस्करी हुन थालेपछि सरकारले यस्तो निर्णय गरेको बु्झिएको छ । 

नो अब्जेक्सन लेटर लिन केही झन्झटिफो भए पनि यसको विकल्प तत्कालका लागि नदेखिएको नयाँदिल्लीस्थित नेपाली दूताबासका एक अधिकारीले ब्रेक एन लिंक्सलाई बताए । 

नो अब्जेक्सन लेटर लिनका लागि चाहिने सामग्रीको सूची पनि राजदूताबासले जारी गरेको सूचना उल्लेख गरिएको छ । जसअनुसार ती देशमा जानुको मनासिव कारणसहितको निवेदन दिनुपर्ने छ । निवदेनका साथमा यात्रा गर्न चाहने व्यक्तिको पासपोर्ट र त्यसको प्रतिलिपि, जान लागेको देशको भिसा र हवाईटिकटको प्रतिलिपि,  राेजगार भिसामा जान लागेको भए श्रम स्वीकृतिको प्रतिलिपि, भारतबाहेक अन्य मुलुकमा गएको भए त्यसको यात्रा अभिलेख र भारतमा रहेका नेपाली भए उनीहरूको अध्ययन वा व्यवासयसँग सम्बन्धित परिपचयपत्र संलग्न हुनुपर्ने छ । 

यसरी आवश्यक कागजातसहित आवेदन दिएपछि औचित्यको आधारमा राजदूताबासले नो अबजेक्सन लेटर जारी गर्न सक्ने सूचनामा बताइएको छ। 

 

  

प्रकाशित मिति: : 2019-06-22 05:08:35

प्रतिकृया दिनुहोस्