अमेरिका-इरान बढ्दो तनाव : आकासिदै छ सुनको मूल्य

अमेरिका र इरानबीचको टकरावको प्रभाव अन्तर्राष्ट्रिय बजारमा समेत देखिन थालेको छ। त्यसको सबैभन्दा ठूलो प्रभाव सुनमा र त्यसपछि तेलको भाउमा परेको छ ।  

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य शुक्रबार प्रति औंश १३९९.२५ अमेरिकी डलर पुगेको छ । विगत ६ वर्षमा यो नै सबैभन्दा उच्चतम विन्दुमा पुगेको सुनको मुल्य हो । तर, अझै पनि सन् २०११ को प्रतिऔंश १८९५ अमेरिकी डलरको कीर्तिमान छुन धेरै टाढा  छ ।

तरल पुँजीका रूपमा लिइने सुन जुनसुकै बेला पनि बेच्न सकिने भएकाले सैन्य द्वन्दको बेला लगानीकर्ताहरू सुनमा लगानी गर्छन् ।यतिबेला महाशक्ति राष्ट्र अमेरिका चीन र भारतसँग व्यापारयुद्ध गरिरहेको छ भने इरानसँग लगभग युद्धकै अवस्थामा छ । यही कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको बताइन्छ । यसअघि नै अमेरिकी फेडरल रिजर्भ बैंकले तत्काल ब्याजदर नबढाउने निर्णय गरेकाले पनि लगानीकर्ता सुनमा लगानी गर्न आकर्षित भएका थिए । यसले बजारमा सुनको माग बढेको थियो । माग र आपूर्तिको समीकरणका कारण पनि सुनको भाउ बढ्ने अवस्था सिर्जना भैसकेको थियो ।

यसैगरी कच्चा तेलको भाउ पनि अन्तर्राष्ट्रिय बजारमा बढेको छ । शुक्रबार एक ब्यारेल कच्चा तेलको मूल्य ४१८.२४ डलर कायम भएको छ । यसै महिनाको सुरूमा कच्चा तलेको मुल्यमा केही कमी आएको थियो । यो तनावले त्यो पनि बढ्न सुरू गरेको हो । 

अमेरिका र इरानको तनाव तत्कालै घट्ने देखिदैन । यसको मूलकारण अमेरिकामा सन् २०२०मा हुने राष्ट्रपतिय निर्वाचन नै हो । अमेरिकामा चुनाव जित्ने एउटा स्थायी एजेन्डा अमेरिकालाई युद्धको अवस्थामा लगेर विरोधीलाई आक्रमण गर्नु हो । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प त्यसका बारेमा जानिफकार छन् र उनी इरानसँगको तनावमा खेल्दै यसलाई चुनावको पूर्वसन्ध्यामा क्लाइमेक्समा लैजान सक्छन् । 

प्रकाशित मिति: : 2019-06-21 23:04:45

प्रतिकृया दिनुहोस्