सलमान खानले प्रितमलाई भने- तिमी मजस्तै छौ, देखिन्छौ एउटा, गर्छौ अर्कै

सलमान खानसँग इटहरीका प्रितम आचार्यले ‘सारेगमप लिटिल च्याम्प्स’ को मञ्चमा

इटहरीका प्रितम आचार्यले ‘सारेगमप लिटिल च्याम्प्स’ को मञ्चमा बारम्बार एउटै कुरा भनेका थिए, ‘म उदितनारायण झाको फ्यान हुँ। एकचोटि उनलाई भेट्न चाहन्छु।'

भारतीय टेलिभिजन च्यानल जिटिभीको ‘रियालिटी शो’ मा तेस्रो स्थान हासिल गरी फर्केका प्रितमसँग हामीले यही प्रश्नबाट कुराकानी सुरू गर्‍यौं, ‘उदितसँग भेट भयो त?’

‘छुट्टै भेट त भएन, तर उहाँको अगाडि गाउने मौका भने पाएँ,’ उनले सेतोपाटीसँगको टेलिफोन कुराकानीमा भने।

सारेगमपको एउटा कार्यक्रममा उदितनारायण आगन्तुक ‘जज’ बनेर आएका थिए। जसको गीत गाउँदै प्रितम हुर्के र जसलाई भेट्ने सपना साँचे, त्यस दिन उनकै अगाडि प्रितमलाई ‘पफर्मेन्स’ देखाउने अवसर जुरेको थियो।

उनले उदितकै गीत ‘जादु तेरी नजर’ गाए। प्रतिक्रियामा बूढी औंला माथि उठाउँदै उदितले भने, ‘आज तिमीले मेरो बाल्यकाल याद दिलायौ।’

उनले अगाडि थपे, ‘दिलबाटै गायौ, मुडमा गायौ, कसैले हुन्छ भनून् या हुन्न, तिमी सबैको प्रितम हौ।’

आफ्ना ‘आइडल' उदितको यस्तो प्रतिक्रियाले उत्साहित प्रितम भन्छन्, ‘उहाँले मेरो गायन मन पराउनुभयो, म यसमा खुसी छु। उहाँलाई व्यक्तिगत रूपमै भेट्ने सपना भने यसपालि पूरा भएन।'

‘नारायणगोपाल र उदितनारायण झा मेरा मनपर्ने गायक हुन्,' उनले भने, ‘बम्बईसम्म पुगेका बेला म उदित सरलाई भेट्न चाहन्थेँ। भेट्ने समय पनि मागेँ, तर उहाँको समय नै मिलेन। खै अब त कहिले भेट होला र!’

‘उहाँको आफ्नै जीवन छ, समयतालिका छ, फुर्सत निकाल्न सक्नुभएन होला, तर त्यहाँसम्म पुगेर पनि भेट्न नपाएकोमा दुःखी छु,’ प्रितमले भने।

बलिउड स्टार सलमान खानसँगको भेटले भने यो दु:ख बिर्साइदिएको उनी बताउँछन्।

प्रकाशित मिति: : 2019-06-20 12:26:17

प्रतिकृया दिनुहोस्