केही वर्षअघि ललितपुर, लुभुमा एउटा दर्दनाक घटना भएको थियो। आमाले आफ्नो दुईमहिने बालकलाई काजु पिसेर खान दिइन्। राम्ररी नपिसिएको काजुको सानो टुक्रा शिशुको घाँटीमा अड्कियो। शिशुले ज्यान गुमाउनुपर्यो।
यो दुखद खबरबारे पत्रपत्रिकामा समाचार आयो। धेरै मान्छे आफ्नो बालबच्चाको खानपिनलाई लिएर झस्के।
यही घटनाले जनस्वास्थ्य विषय पढिरहेकी बोनिता शर्मालाई अज्ञानताका कारण कसरी शिशुले ज्यान गुमाइरहेका छन् भनी सोच्न बाध्य बनायो।
उनी शिशु मृत्युदरको कारण खोज्न थालिन्। स-साना नानीबाबुमा देखिँदै आएका विभिन्न रोगबारे अध्ययन गर्न थालिन्। सुत्केरी आमा र बच्चामा देखिने शारीरिक समस्याबारे धूनधान अनुसन्धान गरिन्।
लामो अध्ययनपछि उनले मुख्य कारण भेट्टाइन्, पोषण स्वास्थ्य शिक्षाको कमी।
उनलाई यो समस्या कम गर्ने उपाय खोज्न हुटहुटी भयो। तर, यो कुनै एक व्यक्ति, परिवार वा समाजको मात्र समस्या थिएन, पूरै देशको थियो।
उनले आफ्ना तीन साथी नेहा मल्ल, मञ्जिता राजोपाध्याय र आशुतोष कार्कीसँग कुराकानी गरिन्। चार युवा मिलेर एउटा संस्था स्थापना गरे, 'सोसल चेन्जमेकर्स एन्ड इनोभेटर्स', छोटकरीमा 'सोचाइ'।