सगरमाथा आरोहणमा खतरा बढेको अमेरिकी भूगर्भ-वैज्ञानिकको चेतावनी

अमेरिकाको वेस्टर्न केन्टकी विश्वविद्यालयका ४४ वर्षीय प्राध्यापक डा. जोन अल काठमाडोैंमा सञ्चारकर्मीसँग कुराकानी गर्दै । तस्बिर : एएफपी ।

विश्वको सर्वाेच्च शिखर सगरमाथामा बढ्दो प्रदुषण र मौसम परिवर्तनका कारण आरोहीहरूका लागि खतरा बढेको एक अमेरिकी भूगर्भवैज्ञानिकले चेतावनी दिएका छन् ।

अमेरिकाको वेस्टर्न केन्टकी विश्वविद्यालयका ४४ वर्षीय प्राध्यापक डा. जोन अलले काठमाडोैंमा यस्तो चेतवानी दिएका हुन् । आफ्नो टिमसहित हिउँमाथि अनुसन्धान गर्न सगरमाथा क्षेत्रमा गएका उनले हप्तौसम्म त्यहाँ बिताएका थिए ।  

अधनुसन्धानका क्रममा उनी ७० फिट तल झरेर दुर्घटनामा पनि परेका थिए । 

उनले सगरमाथा क्षेत्रमा धेरै नै प्रदुषण भएको बताउँदै भने- हिउँको भित्रैसम्म प्रदुषण फैलिएकाले हिउँ नै कालो भैसकेको पाइयो । 

उनले ग्लोबल वार्मिङका कारण हिमालमा गर्मी बढेकाले हिउँनदी पग्लिदै पातलो भैरहेको बताए । उनका अनुसार यसले गर्दा पर्वतारोहीहरूलाई आगामी दिनमा सगरमाथा चढ्न जोखिमपूर्ण हुनेछ ।

उनले आफू र आफ्नो टिम पनि अनुसन्धानका क्रममा सगरमाथा आरोहण गर्ने योजनामा त्यहाँ गएको बताउँदै तर आफूले त्यसो गर्न नसकेको बताए । उनले भने- मे २२ र २३ का बिचमा सगरमाथामा यति भीड भयो कि पर्वतारोहीको ट्राफिक जाम नै भयो। त्यसैले हामी माथि जान सकेनौं । यही कारण धेरै पर्वतारोहीको ज्यान पनि गयो ।'

उनले पर्वतारोहीको काराभान बिस्तारै अघि बढेकाले अनुसन्धानका लागि पर्याप्त हिउँको नमूना संकलन गर्न पनि कठिन भएको बताउँदै अगाडि भने- ' हामी अमेरिका पुगेर तथ्यांक प्रशोधन गर्नेछौं र अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्नेछौं ।'

यसअघि सन् २००९ मा पनि सगरमाथामा अनुसन्धान गरेका वैज्ञानिक अलले भने- 'बितेका १० वर्षमा सगरमाथामा धेरै परिवर्तन आएको छ । तर, सबै परिवर्तनहरू सगरमाथा र वातावरणका लागि सुखद छैनन् ।'

 

प्रकाशित मिति: : 2019-06-07 04:08:55

प्रतिकृया दिनुहोस्