इंग्ल्याण्ड र वेल्समा जारी विश्वकपमा दक्षिण अफ्रिकाको खराब प्रदर्शनका बिच सनसनीपूर्ण खुलासा भएको छ।
गत वर्ष राष्ट्रिय टोलीबाट सन्यास लिएका स्टार क्रिकेटर एबी डि भिलियर्सले विश्वकपको लागि सन्यास फिर्ता लिन तयार रहेको र आफूलाई टोलीमा राख्न आग्रह गरेको क्रिक इन्फोमा समाचार सार्वजनिक भएको छ।
विश्वकप क्रिकेटको उपाधि जित्न नसकेको दक्षिण अफ्रिकाको टोली सन्तुलित नदेखेकोले भिलियर्सले आफू उपलब्ध भएको बताए पनि दक्षिण अफ्रिकाको क्रिकेट बोर्डले उनको प्रस्ताव नमानेको खुलेको हो।
इंग्ल्याण्ड आयोजना भइरहेको यस विश्वकपको सुरूको तीन खेलमा कमजोर प्रदर्शनका साथ तीनै खेल हारेको दक्षिण अफ्रिकाका समर्थकहरुले सुरुवात देखिनै भिलियर्सले सन्यास फिर्ता लिएर आउनुपर्ने आवाज उठाइरहेका छन्।
आईपीएल लगायतका फ्रेन्चाइज टी–२० क्रिकेट खेलिरहेका भिलियर्स अझै पनि फर्ममा छन् ।
यस्तोमा उनको उपस्थितिले टोलीको लागि अत्यावश्यक सन्तुलन कायम गर्ने अपेक्षासहित उनको माग भइरहँदा यस्तो खबर बाहिरिएको हो।
बाहिरिएको खबरअनुसार भिलियर्सले अन्तिम टोली घोषणा हुनु एक दिन अगाडि मात्रै खबर गरेकोले पनि उनलाई टोलीमा समावेश गर्न नमिलेको बताइएको छ।
भिलियर्सले कप्तान फाफ डु प्लेसी, प्रशिक्षक ओटिस गिब्सन र छनोटकर्ता लिन्डा जोन्डीसँग सन्यास फिर्ता लिन तयार रहेको बताएको थाहा भएको छ।
खबरअनुसार भिलियर्सको उक्त अनुरोध माथि सामान्य रूपमा विचार पनि गरिएको थिएन।
दक्षिण अफ्रिकाले सुरूको तीन खेल हारिसकेको छ। सेमिफाइनल पुग्ने सम्भावनाको लागि बाँकि ६ वटा खेलनै जित्नुपर्ने देखिएको छ।
भिलियर्सको यो खबर बाहिरिएसँगै क्रिकेट जगतमा तरंग उठेको छ। विशेषगरी दक्षिण अफ्रिका क्रिकेटसँग सम्बन्धीतहरु बिच यो चर्चित बनिरहेको छ।
उनले सन् २०१८ को मे मा सन्यास लिएका थिए।
दक्षिण अफ्रिकाका लागि एक दिवसीय अन्तर्राष्ट्रियमा ५३.५० को औषतमा ९५७७ रन बनाएका थिए।
३१ बलमा सतक प्रहार गरेका उनको नाममा विश्वक रेकर्डसमेत छ। सन् २०१५ मा वेष्टइन्डिजविरूद्ध उनले सर्वाधिक छिटो सय रन बनाएका थिए।