इंग्ल्याण्ड र वेल्समा जारी एक दिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्यान्डले सानदार सुरूवात गरेको छ।
शनिबार भएको पहिलो खेलमाश्रीलंकालाई १० विकेटले हराउँदै न्युजिल्यान्डले फराकिलो जितसहित प्रतियोगितामा विजयी सुरूवात गरेको हो।
श्रीलंकाले दिएको १ सय ३७ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले १६.१ ओभरमा कुनै विकेट नगुमाई सहजै पुरा गर्यो।
उसका लागि मार्टिन गुप्टिलले ७३ रन बनाउँदा कोलिन मुनरो ५८ रनमा अविजित रहे।
गुप्टिलले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दा मुनरोले ४७ बलमा६ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि कार्डिफमा टस हारेर पहिले ब्याटिङ गरेकोश्रीलंका २९.२ ओभरमा अल आउट हुँदै १ सय ३६ रनमा समेटिएको थियो।
उसका लागि ओपनर तथा कप्तान दिमुथ करुणारत्ने ५२ रनमा अविजित रहे पनि बाँकि कुनै पनि खेलाडीले राम्रो रन बनाउन सकेनन्।
एक समय १५.२ ओभरमा ६०–६ को कमजोर अवस्थामा पुगेको श्रीलंकालाई सातौं विकेटका लागि थिसेरा परेरा र करुणारत्नले ५२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए।
परेराले २७ रन बनाउँदा कुशल परेराले २९ रन जोडेका थिए। बाँकी खेलाडी जम्न सकेनन्।
न्युजिल्यान्डका म्याट हेनरी र ल्योकी फग्र्युसनले समान ३ विकेट लिए । जेम्श निशम,मिचेल सान्टानर,कोलिन डी ग्राण्डहोम र टेन्ट्र बोल्टको नाममा समान १ विकेट रह्यो ।