ओलीले दिल्लीमा भने- 'त्यो पत्र कहिले गोप्य थियो र ?', काठमाडौंमा बोल्दै बोलेनन्

मौनताबाटै धेरै उत्तर दिदैं प्रधानमन्त्री के पी शर्मा ओली। तस्बिर: फाइल।

प्रधानमन्त्री के पी शर्मा ओली शुक्रबार अपरान्ह नयाँदिल्लीबाट काठमाडोैं फर्कदा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीमाझ प्रस्तुत होलान् भन्ने धेरैको अपेक्षा पूरा भएन। भारतमा रहदै सत्ता आलोपालोको लिखित सम्झौता बाहिरिएको र त्यसलाई बल पुग्ने गरी पार्टीका अर्का अध्यक्ष प्रचण्डको अन्तर्वार्ता पनि आएकोमा रूष्ट ओलीले मौनताबाटै धेरै प्रश्नको जवाफ दिए। तर, उनले यसअघि दिल्लीमा भने उनले भ्रमण र लिखित सहमतिका बारेमा सञ्चारकर्मीहरूका प्रश्नको  संक्षिप्त उत्तर दिएका थिए।   

तपाईं दिल्ली यात्रामा हुँदा पार्टी एकताको पाँच बुँदे सहमतिपत्र सार्वजनिक भएको छ नि?  भन्ने प्रश्नको उत्तरमा उनले भनेका थिए- 'त्यो पत्र कहिले गोप्य थियो र? पत्र उहिले नै सार्वजनिक भएको हो।यो विषयलाई अहिले उछालेका छन्।के भनौ र?अनावश्यक विषय उछाल्ने नेपाली चरित्र नै हो।'

यसैसँग जोडेर सोधिएको अर्को एक प्रश्न 'त्यसो भए त तपाईंको कार्यकाल आगामी एक वर्ष मात्र देखिन्छ नि?' भन्दा उनले त्यस प्रश्नलाई नै उडाएर हाँस्दै भनेका थिए-'एक वर्ष हैन। चार-पाँच दिन मात्रै बाँकी छ। अब म के भनौं ?'

भारतीय समकक्षी मोदीसँगको मित्रताका बारेमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भने- 'मोदीजी र मेरो सम्बन्ध व्यक्तिगत रुपमा निकै राम्रो छ।हामी पटक-पटक आउने जाने पनि गरिरहेका छौँ। यो पुरानै सम्बन्ध पनि हो। निजी तवरमा पनि हार्दिकतापूर्ण कुराकानी हुन्छ।' 

उनले नेपाल भारत सम्बन्धका बारेमा सोधिएका प्रश्नहरूको उत्तरमा भने 'यसपटकको आफ्नो भ्रमण बधाई तथा शुभकामना दिन भएकाले त्यस बारेमा विस्तृतमा कुरा नभएको' बताए। उनले यसै प्रसंगमा अगाडि भने- तर, यसले पनि दुईपक्षीय सम्बन्धलाई थप हार्दिक बनाउन योगदान पुर्याउँछ।'

दिल्लीमा नै सम्भावित प्रश्नहरूको उत्तर दिइसकेकोले काठमाडोैंमा प्रधामन्त्रीले केही नबोल्नु भएको उनको सल्लाहकार समूहका एक सदस्यले ब्रेक एन लिंक्सलाई बताए। उनले अगाडि भने-'यो एक विशेष भ्रमण भएकाले प्रधानमन्त्रीले थप बोलिरहन आवश्यक ठान्नु भएन।'

तर, ओली प्रवृतिलाई नजिकबाट बुझेका एक राजनीतिक विश्लेषकले भने- ' त्यहाँ सञ्चारकर्मीलाई भेटेको भए उनले पाँचबुदे सहमतिसम्बन्धी प्रश्नकै बढी उत्तर दिनु पर्थ्यो। उनी स्वभावैले त्यस प्रश्नको उत्तर पनि आक्रामक रूपमा दिन सक्थे। यसबाट थप विवाद सिर्जना हुने भएकाले उनले जानी जानी नबोलेर सेफ ल्याण्डिङ गरेका हुन्।'

एक वाम विश्लेषकले भने- 'प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकार र अनुयायीहरूको सबै किसिमको फिडब्याक लिएर मात्र अघिल्लो रणनीति बनाउँने छन्।अहिले उनी प्रचण्डलाई चिढ्याएर पार्टीमा थप जोखिम मल्ने पक्षमा छैनन्।'

यसैबीच ओली र प्रचण्डबीचको टसल बढाएर कुनै पनि बेला आफ्नो महत्व बढाउन चाहने पार्टीका अर्का चतुर नेता ईश्वर पोखरेलका अनुयायीहरूले भने यस विषयलाई उचालेका छन्। उनीहरू यस मौकालाई उपयोग गर्न चाहेजस्तो देखिएको छ। 

पार्टीमा अल्पमतका नेता माधव नेपालले भने यो विषयलाई बढ्न नदिने कोशिषस्वरूप ओली नै पाँच वर्ष प्रधानमन्त्री हुने बताएका छन्। तर, अर्का नेता वामदेव गौतमले भने ओलीले सहमति उलंघन गरे त्यसले पार्टी एकतामा गम्भीर असर पर्ने चेतावनी दिएका छन्। 

 

प्रकाशित मिति: : 2019-06-01 01:08:22

प्रतिकृया दिनुहोस्