नेपालमा ओली सरकारले दोस्रोपटक ल्याएको संघीय सरकारको बजेटबाट गैरआवासीय नेपालीले के पाए त ? यस बारेमा खासै खोजबिन भएको देखिदैन।
बजेटको पूर्ण पाठ पढिसक्दा एक ठाउँमा गैरआवासीय नेपालीका लागि एउटा नयाँ प्रावधान उल्लेख भएको पाइन्छ।त्यहाँ लेखिएको छ-
‘गैर–आवासीय नेपालीहरुले दोश्रो बजारमार्फत पनि लगानी गर्न सक्ने गरी पूँजी बजारलाई फराकिलो बनाइनेछ।’
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेपालको एकमात्र दोस्रो बजार हो।यसमा कुनै पनि पब्लिक कम्पनीले पुँजी संकलनका लागि प्राथमिक बजारमा जारी गरेको आईपिओको प्राथमिक सेयर सूचिकृत गरेपछि दलालमार्फत किनबेच हुन्छ।
ओली सरकारको यो बजेटको प्रावधानले अब यो बजारमा गैरआवासीय नेपालीको पनि पहुँच स्थापित गरिदिने छ।यसको अर्थ अब गैरआवासीय नेपालीले नेपालमा सबै प्रकारको सेयरको कारोबार गर्न सक्नेछन्।
यसअघि केही धनाढ्य गैरआवासीय नेपालीले नेपालको प्राथमिक सेयरमा ठुलो लगानी गरेका थिए।अब उनीहरूले दोस्रो बजारमा पनि चलखेल गर्न पाउँने भएका छन्।
धनी तथा सुकिला-मुकिला गैरआवासीय नेपालीको हितमा उनीहरूकै लबिङका आधारमा यो प्रावधान सुविचारित किसिमले ल्याएको देखिन्छ। यस अतिरिक्त बजेटमा गैरआवासीय नेपालीका लागि अन्य कुनै पनि प्रावधान छैनन्।