जकार्तामा एक बर्ष बिताएर म २००२ अक्टोबरमा काठमाडौँ उत्रिँदा नेपाल गम्भीर राजनीतिक संकटबाट गुज्रिरहेको थियो। नशामा उन्मत्त राजकुमार दीपेन्द्रले आफ्ना बुबा वीरेन्द्र, आमा ऐश्वर्यलगायत दरबारमा रात्रिभोजका लागि निम्त्याइएका परिवारका कैयौँ सदस्यहरुको हत्या गरेको कुख्यात दरबार हत्याकाण्डको एक वर्ष बितेको थियो। त्यस दिन काठमाडौँबाट टाढा रहेका वीरेन्द्रका भाइ ज्ञानेन्द्र धेरै संशय र आशंकाबीच राजमुकुटका उत्तराधिकारी भए, कुनै सत्यता नभए पनि जसमा उनी स्वयम्लाई पनि आरोपित गरिन्थ्यो।
माओवादीसँग वार्ता गर्ने प्रस्ताव आए पनि त्यसमा ध्यान दिइएन र कांग्रेस नेतृत्वको सरकारले २००२ मे महिनामा संसद् विघटन गर्यो । लगत्तै अक्टोबर ४ मा राजाले सरकार अपदस्थ गरे र आफैँले नियुक्त गरेका प्रधानमन्त्रीमार्फत शासन गर्न सुरु गरे।
यी घटनाक्रमहरुको विकासलगत्तै म काठमाडौँ आएको थिएँ। परामर्शका लागि जब म दिल्ली गएँ, तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार दिवंगत ब्रजेश मिश्राले मेरो कार्यादेश नेपालमा संस्थापनलाई चुनौती दिइरहेका र राजनीतिक अस्थिरता तथा आर्थिक विशृंखलता निम्त्याइरहेका माओवादीलाई ‘न्युट्रलाइज’ गर्नका लागि राजा र राजनीतिक दलहरुलाई एक ठाउँमा ल्याउनका प्रयास गर्नु रहेको बताए।