भारतको बहुचर्चित अमेठी निर्वाचन क्षेत्रको बरौलिया गाउँका पूर्वप्रधान सुरेन्द्र सिंहको गोली हानेर हत्या गरिएको छ। हालै लोकसभा चुनाव जितेकी नेतृ स्मृति इरानीका नजिकका व्यक्ति सिंहको शनिबार राति आफ्नै घरमा सुतिरहेको बेला गोली प्रहार भएको बताइएको छ।
गोली प्रहारबाट घाइते भएका सिंहलाई उपचारका लागि लखनउ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
कांग्रेस अध्यक्ष राहुल गान्धीलाई हराएर स्मृति इरानीलाई जिताउन सिंहले निर्णायक भूमिका निर्वाह गरेका थिए। अमेठी निर्वाचन क्षेत्रका थुप्रै गाउँमा ठुलो प्रभाव भएका बरौलिया गाउँका पूर्वप्रधान सिंहले लोकसभा चुनावमा स्मृति ईरानीको प्रचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
भर्खरै चुनावमा राहुल गान्धीलाई पराजित गराउन भूमिका खेलेको बदला लिन कांग्रेस समर्थित व्यक्तिहरूबाट हत्या भएको अनुमान गरिएको छ। अहिले बरौलियाको स्थिति तनावग्रस्त बनेको जनाइएको छ।
घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको पनि भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।