केपी खनाल कक्षा ७ मा पढ्दा कैलालीको ‘रेडियो नमस्ते’ मा बाल कार्यक्रम चलाउँथे। हरेक शुक्रबार साँझको कार्यक्रमका लागि उनी लम्कीबाट टीकापुर (१३ किमी) साइकलमा कुद्थे। त्यसरात त्यहीँ बस्थे र शनिबार घर फर्कन्थे। यसरी नै उनले २ वर्ष बिताए।
यो समय उनका लागि समाज र सामाजिक परिवेश बुझ्न निकै अर्थपूर्ण रह्यो। यसैक्रममा गाउँ–घरमा देखिएको एउटा दृश्यले उनको मन चसक्क छुन थाल्यो। गाई–भैंसी जथाभावी बाँध्ने, प्रयोग गरेका कपडा जथाभावी फाल्ने, विभिन्न चीज–वस्तु घर–वरिपरि फालेर गाउँ–घर फोहोर गरेको उनलाई मन परेन।
यी कुरामा सचेतना फैलाउन उनले स्कुल पढ्दा आफ्नो अगुवाईमा विद्यार्थीहरुको र्याली निकाले। गाउँ–घरमा पुगेर सचेतना फैलाए।