राजु र बिनोद चम्कँदा प्रधानमन्त्री कपमा आर्मीको सानदार विजयी सुरूवात

प्रदेश नं २ र त्रिभुवन आर्मी क्लबबीच भएको खेलमा ब्याटिङ गर्दै आर्मीका बिनोद भण्डारी।

विभागीय टोली नेपाल आर्मीले राजधानीमा शुक्रबारदेखि सुरू भएको तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरूवात गरेको छ।

प्रदेश दुईलाई १ सय ७१ रनको फराकिलो अन्तरले हराउँदै त्रिभुवन आर्मी क्लवले प्रतियोगितामा विजयी सुरूवात गरेको हो।

आर्मीले दिएको २ सय ७९ रनको ‌ लक्ष्य प्रछ्याएको प्रदेश २ले ३१.४ ओभरमा अल आउट हुँदै १ सय ७ रनमा समेटियो। उसका लागि ओपनर हरि शंकर शाहले सर्वाधिक २१ रन बनाए। अर्का ओपनर सुधिर चौधरीले १५ रन जोड्दा मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान लगातार कम रनमा आउट भएपछि प्रदेश २ ले फराकिलो हार ब्योहोर्नुपर्‍यो।

प्रदेश दुईका लागि साम्सद शेख १६, राशिद खानले १४, सुरज पेटलले ११ रन, कृष्णजंग कार्की ९, विशाल शुसलिङ ४, मेहबुब आलम ५, हासिम अन्सारी शून्य र विवेक यादव ५ रनमा आउट भए।

प्रदेश २ लाई सस्तैमा रोक्न आर्मीका साहव आलमले ४ विकेट लिँदा सुशन भारिले ‍ ३ विकेट हात पारे। यस्तै जितेन्द्र मुखियाले २ र कुशल मल्लले १ विकेट हात पारेका थिए।

यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७८ रन बनाएको थियो।

आर्मीका राजु रिजालले सर्वाधिक ९० रनको उत्कृष्ट पारी खेले। सतक नबाउन १० रनले चुकेका रिजालले १ सय ९ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै अर्का ओपनर विनोद भण्डारीले  ६६ रन बनाउँदै अर्धसतक पुरा गरे। कप्तानसमेत रहेका भण्डारीले राजुसँग १ सय २१ रनको शतकीय साझेदारी गर्दै टोलीको स्कोर सम्मानजनक पुर्‍याए।

रोहित कुमार पौडेलले ४७ रनमा बनाउँदा हरि बहादुर चौहाले २६ रन जोडे। यस्तै भिम सार्की ६,राजेश पुलामी मगर ८,करण केसी ११ र कुशल मल्ल ३ रनमा आउट भएका थिए।

प्रदेश २ का लागि हरि शंकर शाहले सर्वाधिक ३ विकेट लिए। त्यस्तै साम्सद शेख,राशिद खान,विवेक यादव र विशाल शुसलिङले समान १-१ विकेट हात पारेका थिए।

यस्तै मुलपानी मैदानमा आज हुने भनिएको प्रदेश १ र नेपाल पुलिसबीचको खेल भएन। मैदान पूर्ण रुपमा तयार नहुँदा जेठ १२ गतेबाट पछि मात्र मुलपानीमा खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच गरेका थिए।

प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता छ। समूह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी छन्। समूह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश ‌छन्।  राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्।

विजेताले उपाधिसहित २० लाख रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पाउनेछ। प्रतियोगिताकै उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन्। त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्नेछन्।

एक हातले क्याच लिउने दर्शकले रु ५० हजार पाउने छन्। प्रतियोगिताको फाइनल जेठ २५ गते हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति: : 2019-05-24 16:36:46

प्रतिकृया दिनुहोस्